Logo

वायुसेवा निगमले १२ जहाज ल्याउने


नेपाल वायु सेवा निगमले १२ वटा जहाज ल्याउने योजना बनाएको छ । आगामी १० वर्षभित्र ४ वटा न्यारोबडी, २ वटा वाइडबडी, सुगममा उडाउने जहाज २ र छोटा धावन मार्गमा उडाउने ४ जहाज गरी १२ वटा जहाज ल्याउने लक्ष्यसहितको १० वर्षे योजना निगमले बनाएको हो ।

निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडीले निगमलाई प्रतिस्पर्धी बनाउन जहाज थप गर्नुपर्ने आवश्यकता देखेर १२ जहाज थप गर्ने योजना बनाएको रातोपाटीलाई बताए । निगमको १० वर्षे कार्यायोजना सञ्चालक समितिले पास गरिसकेको छ ।

यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्य पनि विस्तार गरिने योजना छ । सञ्चालक समितिबाट पास भएको योजना संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पास भएपछि कार्यान्वयनको बाटो खुल्नेछ । यद्यपि बजेट निकासा अर्थमन्त्रालयबाट हुने भएकाले सो मन्त्रालयको समेत स्वीकृति पछि कार्यान्वयनमा जान सक्नेछ ।

निगम सो योजना मन्त्रालयमा पेश गर्ने तयारीमा छ । पहाडी भन्छन्, ‘हामीसँग जहाजको संख्या कम छ, १२ जहाज थप गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न खोजेका हौँ । जहाज थप भएपछि उडान गन्तव्यहरु पनि थप हुँदै जानेछन् ।’

निकट भविष्यमा अष्ट्रेलिया, इन्डोनेसिया, लण्डन, साउदी अरेविया, दक्षिण कोरिया , जर्मनी लगायतका रुटसम्म नेपाल एयरलाइन्सको जहाज उडाउने योजना रहेको पहाडीले बताए ।
निगमले व्यावसायिक योजनाको पहिलो चार वर्षसम्मसरकारकै भर पर्नेछ । त्यसपछि विस्तारै निगमले सरकारको पैसा फिर्ता गर्दै लैजाने उसको व्यावसायिक योजना छ । महाप्रबन्धक डिम प्रसाद पौडैल आएपछिको यो पहिलो कार्ययोजना हो ।

नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ४६ लाख सम्पत्ति रहेको गत वर्षको निगमको डिडिए रिपोर्टले देखाएको छ । सो डिडिएले उसको ऋण तथा दायित्व ४५ अर्ब रुपैयाँ देखाएको थियो । निगमले सञ्चय कोष र नागरिक लगानीकोषसँग जहाज खरिदका लागि लिएको ऋण तिर्न बाँकी छ । न्यारोबडी जहाज खरिद गर्न सञ्चयकोषसँग १० अर्ब र बाइडबडी खरिद गर्न नागरिक लगानी कोषसँग १२ अर्ब ऋण लिएको थियो । अझै पनि सरकारी सहायतामै उसको कार्ययोजना निर्भर रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, २६ मंसिर २०७७ ०९:४५
प्रतिक्रिया दिनुहोस्