Logo

सिंहदरबार घेर्ने पर्यटन व्यवसायीहरुको चेतावनी, ४५ संघ संस्थाद्वारा संयुक्त रुपमा पत्रकार सम्मेलन


काठमाडौं । पर्यटनसँग सम्बन्धित सबै संघ–संस्था सरकारप्रति आक्रोशित भएका छन् । सरकारले पर्यटन व्यवसायीहरुको जायज र सहज माग पनि सम्बोधन नगरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।
व्यवसायीहरुले सरकार भएको आभास गर्न नपाएको समेत बताए ।

पीसीआर नेगेटिभ भएका र कोरोनाविरुद्धको खोप लगाएर नेपाल आउन चाहने बाह्य पर्यटकलाई अनअराइभल भिसा दिनुपर्ने माग पनि सरकारले सम्बोधन नगरेपछि व्यवसायी सरकारप्रति आक्रोशित भएका हुन् ।

१० बुँदे माग अघि सार्दै उनीहरुले अब पनि माग सम्बोधन नभए सिंहदरबार घेर्नेसम्मको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान) नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), पाटा नेपाल, नेपाल पर्वतारोहण संघ (एनएनएम) लगायत करिब ४५ संघ संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी स्वास्थ्य प्रोटोकल अपनाएर पर्यटनका सबै गतिविधि गर्न दिन माग गरेका हुन् ।

नाट्टाका अध्यक्ष अच्यूत गरागाईले शक्ति प्रदर्शनको नाममा स्वास्थ्य प्रोटोकल पालना नगरी सडकमा आउन हुने तर विश्व स्वास्थ्य संगठनको स्वास्थ्य प्रोटोकल पालना गरेर नेपालमा आउने बाह्य पर्यटकलाई आउन नदिएको भन्दै आक्रोश व्यक्त गरे । “खोप लगाएका र पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटकलाई अनअराइभल भिसा दिन धेरै पटक पर्यटन मन्त्रालय, सीसीएमसीमा बिन्ती पत्र चढाइयो तर हाम्रो कुराको सुनुवाइ भएन,” उनले भने, “अब बिन्तिपत्र चढाउँदैनौं, सिंहदरबार घेर्छौँ ।”

व्यवसायीहरु सरकार नहुँदा अभिभावकविहीनको अवस्थामा पुगेकोसमेत उनले बताए । “सरकार छ भने हाम्रो माग सम्बोधन गरोस् । होइन भने सडकमा आउन बाध्य हुनेछौं, सिंहदरबार घेर्न बाध्य हुनेछौं,” उनले भने ।
व्यवसायीहरुले मौद्रिक नीतिले व्यवस्था गरेका नीतिगत विषय कार्यान्वयनमा नआएकोप्रति पनि आक्रोश व्यक्त गरे ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसायीले सरकारले पूरा गर्नै नसक्ने माग नराखेको बताए ।

पीसीआर रिपोर्ट ल्याएर आउने बाह्य पर्यटकलाई ५ दिनको क्वारेन्टिन हटाउनुपर्ने, कोरोनाविरुद्धको खोप लगाएर नेपाल आउन चाहनेलाई सहज रुपमा आउने दिनुपर्ने बताए । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबै पर्यटन गतिविधि खुला गर्न दिनुपर्ने माग व्यवसायीको भएको उनले बताए ।

स्प्रिङ्ग सिजन सुरु हुन गइरहेको अवस्थामा पनि प्रोटोकललाई खुकुलो नबनाए पर्यटन क्षेत्रले पुनर्जीवन नपाउने व्यवसायीहरुको भनाइ छ ।
नेपालको समग्र पर्यटन क्षेत्रलाई पूनर्जीवन दिन ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्न पर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भिसााको व्यवस्था पूर्ववत् रुपले गराउनु पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने माग व्यवसायीको छ ।

यस्तै हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्न, कोरोनाविरुद्धको भ्याक्सिन पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउन, नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्न, नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड, तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

यसैगरी नेपाल–भारतका सीमानाबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने, कम्तिमा ५ हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनु पर्ने र कोरोनाविरुद्धको भ्याक्सिन पूरा मात्रा लगाइ आएका पर्यटकलाई निर्बाध रुपमा घुम्न दिनुपर्ने माग समग्र पर्यटन व्यवसायीहरुको छ ।

प्रकाशित मिति : सोमबार, १० फाल्गुन २०७७ १८:४४
प्रतिक्रिया दिनुहोस्