भोक खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु, माप्य हुँदै खुम्बु क्षेत्रको सवारी साधन आवतजावत बन्द
राप्छा । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ स्थित भोक खोलामा मोटरेवल पुल निर्माण कार्य सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा (खुम्बु) क्षेत्र जोड्ने मुख्य सडक खण्डअन्तर्गत पर्ने उक्त पुल निर्माण कार्य औपचारिक रुपमा सुचारु भएको हो ।
पुल निर्माण कार्य सुरु हुने भएपछि फाल्गुन २ गतेबाट सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको माप्य दुधकोशी गाउँपालिकाले जनाएको छ ।
पुल निर्माणको जिम्मा जलप रवीचक्र जेवी (जोइन भेन्चर)ले पाएको छ । निर्माण कम्पनीका प्रतिनिधि हेम शाहीले निर्माण सामाग्री ढुवानी भइरहेको र अब तुरुन्तै काम सुरु हुने जानकारी दिनुभयो । शाहीले कुनै अवरोध नआए समयभन्दा अगावै पुल निर्माण गरेर हस्तान्तरण गर्ने बताउनुभयो ।
१८ मिटर लम्बाई रहेको उक्त पुलको चौडाई ३.१५ मिटर रहेको छ । आगामी २०८० साल असारभित्र सम्पन्न गरिसक्नुपर्ने समयसिमा तोकिएको छ ।
ओर्लाङघाटमा माप्य खुम्बु मितेरी मोटरेबल पुल बनेपनि भोकखोलामा मोटरेबल पुल नहुँदा विशेषगरी वर्षा याममा सवारी साधन आवतजावत पूर्ण रुपमा बन्द हुने गर्दछ । सो कारण माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ सहित सिंगै खुम्बु क्षेत्रको जनजीवन प्रभावित हुने गरेको छ ।