सगरमाथा यातयातको बोलेरो तथा जिप सेवा माप्य र खुम्बुमा सुरु, भाडा दर सार्वजनिक
सोलुखुम्बु – सोलुखुम्बु सगरमाथा यातयात समितिले सदरमुकाम सल्लेरीबाट खुम्बु क्षेत्रका लागि यातयात सेवा सुरु गरेको छ । सदरमुकाम सल्लेरीबाट खुम्बुको थामडाँडा र छिर्दीसम्मका लागि उक्त समितिले आज (बुधबार)बाट बोलेरो तथा जिप सेवा सुरु गरेको हो ।
यस अघि दर्ताको क्रममा रहेको समितिले बुधबारबाट विधिवत रुपमा आफ्नो सेवा विस्तार गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । खुम्बु, छिर्दी तथा बासा क्षेत्रको कच्ची सडकका लागि फोर विल भएको ४४ वटा बोलेरो तथा जिप सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष राम बहादुर विश्वकर्माले बताए ।
समितिले सल्लेरीको आवाडाँडामा काउन्टर नै स्थापना गरेर सेवा सुरु गरेको जनाइएको छ । यससँगै सल्लेरीदेखि खुम्बुको थामडाँडा क्षेत्र सम्म सञ्चालन हुने सवारीको नयाँ भाडादर समेत कडाईका साथ कार्यन्वयनमा आएको छ ।
नयाँ भाडादर अनुसार सल्लेरी–महभिर ५००, सल्लेरी–देविस्थान ६००, सल्लेरी–वरउ ७००, सल्लेरी–डाडाँगाउँ ८००, सल्लेरी–खास्ताव १०००, सल्लेरी–दाम्कु १०५०, सल्लेरी–खालीडाँडा ११००, सल्लेरी–केत्न्याई ११५०, सल्लेरी–अधेरी १२००, सल्लेरी–जुभिङ १५००, सल्लेरी–बुम्बुरी १६००, सल्लेरी–खरिखोला १८००, सल्लेरी–बुप्सा २०००, सल्लेरी– थामडाँडा २२०० कायम भएको प्रमुख जिल्ला अधिकारी (सिडिओ ) बसन्त भट्टराईले जानकारी दिए ।
यस्तै सल्लेरी–फेरा ३००, सल्लेरी–रिङमु ५००, सल्लेरी–टाक्सिन्दु ७००, सल्लेरी–छुल्यामु ८००, सल्लेरी–टैबुक ९००,सल्लेरी–नुनथला १०००, सल्लेरी–फुलेली १२०० र सल्लेरी– छिर्दी १३०० रुपैयाँ कायम गरिएको सिडिओ भट्टराईले बताए ।
गत पुसमा यातयात कार्यालय ओखलढुंगाका कर्मचारी, यातयात व्यवसायी र जिल्ला प्रशासन कार्यालयसहितको बैठकले निर्धारण गरेको नयाँ भाडादरलाई कार्यन्वयनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तोकिएको भाडादर लागु भए नभएको विषयमा आफुहरुलाई चेकिङलाई कडाई गरेको ट्राफिक प्रहरी इन्चार्ज कृष्ण कुमार कटवालले बताए ।