Logo

घ्याङखर्क चौरी पर्यटन महोत्सवसँगै ‘याक भलिबल कप’ हुँदै


नेपालमा पहिलो पटक ‘याक भलिबल कप २०८१’ आयोजना हुने भएको छ । याक तथा चौरी व्यवसायी संघ नेपालको मुख्य आयोजना र घ्याङखर्क चौरी फर्म सह- आयोजना तथा कोशी प्रदेश पर्यटन,बन् तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा यहि २०८१ वैशाख १० र ११ गते घ्याङखर्क पिकमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पा (कर्ज्याङ)को प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको “घ्याङखर्क चौरी पर्यटन महोत्सव”सँगै याक भलिबल कप सञ्चालन गर्न लागिएको हो ।

सोलुखुम्बु जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित समुन्द्री सतहबाट ३७०० मीटर उचाईमा रहेको घ्याङखर्क पिकमा आयोजित उक्त प्रतियोगितामा सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, केपिलासगडी गाउँपालिका, ऐंसेलुखर्क गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाबाट महिला / पुरुष भलिबल टिम सहभागी हुने भएको छ ।

“घ्याङखर्क चौरी महोत्सव” मा आयोजित महिला पुरुष प्रथम ऐतिहासिक याक कप भलिबल प्रतियोगतामा प्रथम, द्वितीय तृतीय र सान्त्वना हुने टिमले सिल्ड मेडल र प्रमाणपत्रसहित क्रमश : रु.३०,०००/-, रु.२०,०००/- ,रु.१०,०००/- र रु.५,०००/- पुरस्कार प्राप्त गर्नेछन् ।

महोत्सवको अवसरमा याक भलिबल कपसँगै चौरी कृषक तथा जैविक विविधता संरक्षक सम्मान, प्याराग्लाइडिङ उडान, याक ट्रेकिङ ट्रेल उद्घाटन, चौरी र जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रियासँगै खोटाङ जिल्ला र सोलुखुम्बु जिल्लाको जनप्रतिनिधिहरुबीच साझा अवधारणा बनाई आगामी दिनमा निरन्तर घ्याङखर्क चौरी महोत्सव आयोजना गर्न छलफल गरी आगामी योजना तर्जुमा गरिने भएको छ ।

हिमाली क्षेत्रको गहना याक चौरी लोपोन्मुख अवस्थामा रहेको सन्दर्भमा यसको संरक्षणमा सबैको ध्यानाकर्षण गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । याक र चौरीले हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षणसँगै विभिन्न जातजातिको संस्कार संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण टेवा पुर्याउदै आएको छ ।

प्रकाशित मिति : आईतवार, ९ बैशाख २०८१ १९:३८
प्रतिक्रिया दिनुहोस्