Logo

नाट्टा निर्वाचन २०२६: जिस्वाँ नेतृत्वको प्यानल बलियो बन्दै, पूर्वअध्यक्षहरुले दिए शुभकामना


काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा जिस्वाँ तुलाधर श्रेष्ठ नेतृत्वको समावेशी व्यावसायिक प्यानल बलियो बन्दै गएको छ । स्पष्ट एजेण्डा, नेतृत्व क्षमता र टिममा समावेशी प्रतिनिधित्वका कारण जिस्वाँ नेतृत्वको प्यानल नाट्टा सदस्यहरूको रोजाइमा परेको छ ।

पर्यटन तथा ट्राभल व्यवसायीका विद्यमान समस्या समाधान गर्दै नाट्टालाई थप प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धतासहित प्यानल चुनावी मैदानमा छ ।

जिस्वाँ प्यानलले संस्थागत सुधार, व्यवसायीको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन, सरकारी तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय र बदलिँदो पर्यटन बजारअनुसार व्यवसायीलाई प्रतिस्पर्धी बनाउने विषयलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको छ ।

यसैबीच, टिम जिस्वाँले बुधबार एलिस रिसेप्सनमा बृहत् उपस्थितिका बीच उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नाट्टाका पूर्वअध्यक्षहरू रामकाजी कोने, अर्जुन शर्मा, मधुसुदन आचार्य, सिएन पाण्डे, रमेश थापालगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै पूर्वअध्यक्षहरूले नाट्टा र समग्र पर्यटन क्षेत्रका विद्यमान समस्या समाधान गर्न सक्षम, व्यावसायिक र दूरदर्शी नेतृत्व आवश्यक रहेको धारणा राख्दै टिम जिस्वाँलाई सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका नेतृत्व तथा प्रतिनिधिहरूले पनि टिम जिस्वाँलाई आगामी निर्वाचनका लागि शुभकामना व्यक्त गरेका थिए ।

जिस्वाँ तुलाधर श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे, उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुसिल पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्ण प्रसाद ढकाल, सहकोषाध्यक्षमा डा. विमला दाहालले उम्मेदवार दिएका छन् भने सदस्य पदका लागि प्रदिप आचार्य, दिनेश घिमिरे, सुदर्शन गजुरेल, त्रिलोचन न्यौपाने, अनि राउत र रोजिना रञ्जित कारको उम्मेदवारी रहेको छ ।

प्रकाशित मिति : बिहीबार, २८ श्रावण २०८३ ०८:२६
प्रतिक्रिया दिनुहोस्