Logo

पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने सभामुख अर्यालको भनाई


काठमाडौँ, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा पर्यटकको संंख्यात्मक बृद्धि गर्ने लक्ष्य बढाउनुपर्ने बताएका छन् । ठूलो उपलब्धि हासिल गर्नका लागि सानो लक्ष्य लिएर सफल नहुने भन्दै उनले अब १०/२० लाखको नभई करोडको संख्यामा पर्यटक भित्र्याउने अभियानको तयारीमा लाग्नुपर्ने बताए ।

शुक्रबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए ।

सभामुख अर्यालले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै नाट्टाजस्ता व्यावसायिक सङ्गठनले पर्यटन उद्योगको विकासमा सक्दो योगदान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपाल पर्यटन बोर्डलगायत पर्यटनसँग सम्बन्धित निकायको पुनर्संरचनाका विषयमा नीतिगत बहस आवश्यक रहेको उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश)ले हालसम्म हवाई टिकटमा लाग्ने भ्याट हटाउने विषयमा आफु गम्भीर रहेको भन्दै आउँदो बजेटबाट सोको लागि पुनर्विचार गर्ने प्रतिबद्धता जनाए ।
उनले पर्यटन ऐन व्यावसायिक मैत्री बनाउन पर्याप्त समय उपलब्ध गराउने र एडभेन्चर, पदयात्रा तथा आरोग्य पर्यटनलगायत छुटेका विषय समेटेर ऐन निर्माण गर्न सरकार तयार रहेको पनि बताए ।
उनले नेपाल पर्यटन बोर्डको पुनः संरचना गर्नुपर्ने आवश्यकता समेत औल्याए । “पर्यटन बोर्डको अहिले कै संरचनाबाट हामीले चाहेको कुरा पूरा हुन नसक्ने कुरामा म कन्भिन्स छु” उनले अगाडि भने “बोर्डको सुधार गरेर अब निजि क्षेत्रको सम्बोधन हुनेगरी पर्यटन प्रवर्द्धनमा मात्रै खर्च गर्ने निकायको रुपमा विकास गर्नुपर्छ ।”

त्यस्तै, नेपाल एयरलाइन्सलाई पीपीपी अवधारणामा जानुपर्नेमा मन्त्री पौडेलको जोड रहेको छ । उनले राष्ट्रिय ध्वजावाहकको विकास विना मुलुकको पर्यटन विकास सम्भव नभएको जिकिर गरे ।
उनले नेपाल आरोग्य पर्यटनको ८जननी देश भएको उल्लेख गर्दै यसको विकासका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

नाट्टाका वर्तमान अध्यक्ष कुमारमणी थपलियाको अध्यक्षतामा सम्पन्न सो साधारण सभाको अवसरमा विभिन्न विधाबाट मुलुकको पर्यटन प्रवर्द्धन र विकासमा योगदान पुर्याउने कम्पनी, संस्था र व्याक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । त्यस्तै, नाट्टाद्वारा प्रकाशित ‘नाट्टा जर्नी’ नामक संस्थागत पुस्तक सार्वजनिक गरिएको थियो ।

 

 

प्रकाशित मिति : शुक्रबार, २९ श्रावण २०८३ १७:२८
प्रतिक्रिया दिनुहोस्