Logo

अर्को चुनावमा कांग्रेसको बिकल्प नभएको महामन्त्री कोइरालाको दाबी


सोलुखुम्बु।  नेपाली कांग्रेसका महामन्त्री शसांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको बिकल्प नभएको बताएका छन् । शनिबार नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लीमा आयोजना गरेको खुल्लासभालाई सम्बोधन गर्दै कोइरालाले ओली सरकार असफल भएको टिप्पणी गरे ।

सभामा कांग्रेस युवा नेता तथा सांसद गगन थापाले वर्तमान केपी ओली नेतृत्वको सरकारको दुई बर्ष खेर गएको भन्दै सरकार पूर्ण रुपमा असफल बनेको दाबी गरे । ‘सफलताको परीक्षामा यो सरकार पूर्ण रुपमा अनुत्तीर्ण भएको छ, उत्तीर्ण हुने कुनै छाँट छैन’ थापाले भने ।

कांग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले स्थानीय सरकारहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । विकासको नाममा जताततै भ्रष्टाचारमा स्थानीय सरकार डुबेको भन्दै उनले स्थानीय तहमा भएको भष्ट्राचार विरुद्ध लड्नका लागि तयार रहन स्थानीयलाई आग्रहसमेत गरे ।

सभामा कांग्रेस नेताहरु धनराज गुरुङ, विनोदबाबु बस्नेत, प्रकाशसिंह कार्की, हुत्तराज बस्नेत, खिलाराज बस्नेत लगायत्ले सम्बोधन गरेका थिए । सभामा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिकाका सभापति महेन्द्रद्वीप राईको सभापतित्वमा भएको सभामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताका साथमा शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : शनिबार, ३ फाल्गुन २०७६ २२:४३
प्रतिक्रिया दिनुहोस्