Logo

महाकुलुङ गाउँपालिकाद्धारा १५ शैयाँको अस्पताल स्थापना, मुख्यमन्त्री राईले भने: ‘गाउँपालिकाको भविष्य उज्वल छ’


सोलुखुम्बु जिल्लाको सबैभन्दा विकट क्षेत्रमा अवस्थित महाकुलुङ गाउँपालिकाले १५ शैयाँको अस्पताल सञ्चालनमा ल्याएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर १, बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको शुक्रबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको बताए । केचनाकवचदेखि सगरमाथासम्म फाष्ट ट्रयाक सडक र केवलकारको महत्वाकांक्षी योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोकमार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टलगायतका कारण महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल बताउँदै उनले महाकुलुङ अस्पताललाई सुचारु रुपमा सञ्चालन तथा व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरवीर)ले महाकुलुङ गाउँपालिकाले जनचाहाना र भौगोलिक अवस्था सुहाउँदो विकास अवधारणा तयार पारेको भन्दै प्रशंसा गरे । अस्पताल स्थापनाको सन्दर्भलाई जोड्दै उनले विभिन्न चुनौतिहरुको सामना गरेर विकास निर्माणमा नमुना उदाहरण प्रस्तुत गरेको बताए । उनले जिल्लाको सम्बद्धि र जनताको चाहाना पूरा गर्नका लागि आफु हरतरहबाट लागिरहेको बताउँदै विकासमा तेरोमेरोको राजनीति नगर्न आग्रह गरे । जिल्लाको पछिल्ला विकास योजनाहरुको चर्चा गर्दै उनले सडक सञ्जान, कृषि, विद्युत तथा पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए ।

प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले उज्यालो सोलुखुम्बुको अभियानले गति लिएको दाबी गरे । ग्रामिण विद्युतीकरणको काम धमाधम भईरहेको बताउदै सांसद राजभण्डारीले नागरिकको स्वास्थ्य माथी पहूँच अभिबृद्धिका लागि चालु आर्थिक बर्षमा प्रदेश सरकारले हरेक स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराउने जानकारी दिए ।

अर्का, प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जनचाहना अनुसार विकासको काम भईरहेको दाबी गरे । विकासको मुख्य आधार नै सडक भएकाले ग्रामिण सडक विस्तारमा ध्यान केन्द्रित गरेको बताए । नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सोताङमा ब्लड बैँक स्थापनाको पहलकदमी लिएको दाबी गरे ।

गाउँपालिका अध्यक्ष सागर किराँतीले जनताको खुसीलाई केन्द्रभागमा राखेर विकासका कामहरु अघि बढाइएको दाबी गरे । उनले ३६४ जना स्थानीयले हस्ताक्षर गरेको पत्रसहित मध्यपहाडी लोकमार्गको काम सुचारुका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण पत्र बुझाए ।

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले महाकुलुङ गाउँपालिकाको विकास अवधारणाको प्रशंसा गर्दै शान्ति सुरक्षा कायममा प्रशासन कहिल्यै नचुक्ने दाबी गरे ।

गाउँपालिका उपाध्यक्ष विपना कुलुङले जनताको साथ विना विकास संभव नभएको बताईन् । नेपाली कांग्रेसका नेता सुर्य कुलुङले स्थानीय सरकारको काम प्रति आफू सन्तुष्ट रहेको बताए ।

संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०७५ फाल्गुन ८ गते स्वीकृत पाएको उक्त अस्पताल गाउँपालिका स्वयंको आर्थिक तथा स्वास्थ्य शाखाको प्राविधिकमा निर्माण भएको हो । स्वास्थ्य शाखा संयोजक हरि आचार्यकाअनुसार ४६ लाख ८५ हजारमा लागत लागेको उक्त अस्पतालले ल्याव, एक्सरे सहितको चिकित्सक सेवा प्रदान गरिरहेको छ ।

तस्वीरः संघीय सांसद हेमकुमार राईको फेसबुक वालबाट

प्रकाशित मिति : शुक्रबार, २३ फाल्गुन २०७६ २१:०१
प्रतिक्रिया दिनुहोस्