Logo

६ महिनासम्म औषधिको अभाव हुँदैन : औषधि उत्पादक संघ


काठमाडौं : नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो।

संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए।

उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो। भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै ३ महिनाको लागि छ भनेको छ। नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन्। हामी आत्तिनुपर्ने अवस्था छैन।’

संघका महासचिव विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।

उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ। विदेशीले जुनसुकै बेला रोक्यो भने पनि हामी तयार छौँ। हार गुहार गर्नुपर्ने अवस्था छैन। सरकारले प्रोत्साहन गर्‍यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ।’

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ। भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आँकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो।

प्रकाशित मिति : शनिबार, २४ फाल्गुन २०७६ १०:२८
प्रतिक्रिया दिनुहोस्