Logo

माप्य दुधकोशी गाउँपालिकाद्वारा कोरोनाको मारमा परेका आफ्ना नागरिकको उद्धार कार्य सुरु


काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना) को मारमा परेका आफ्ना नागरिकहरुको माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बुले उद्धार कार्य सुरु गरेको छ ।

गाउँपालिकाले काठमाडौंमा रहेका विद्यार्थी, दैनिक ज्याला मजदुरी गर्ने, बिरामी, सुत्केरीलगायतलाई प्राथमिकतामा राखी वैशाख ११ गते लोकतन्त्र दिवसको दिनलाई साइत बनाएर उद्धार सुरु गरेको हो । गाउँपालिकाले पहिलो चरणमा बिहिबार राति साढे नौं बजे काठमाडौंबाट ४ वटा जीपमार्फत वडा नं. १, २, ५ र ७ का ४० जनाभन्दा बढि नागरिकहरुको उद्धार गरेको छ ।

बुद्धिकिरण राई, अध्यक्ष, माप्य दुधकोशी गाउँपालिका

वैशाख १० गते बुधबार जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राईको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार स्थानीय तहले अती विपदमा परेका आफ्ना नागरिकहरुलाई तत्काल उद्धार गर्न थालेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए । लकडाउनका कारण आफ्नो स्थानीय तहका नाकगरिकहरु समस्यामा परेको र उनिहरुको दैनिक जीवनलाई सहज र सुरक्षित बनाउनका निम्ति गाउँपालिकाले निर्णयलाई चाँडो कार्यान्वयन गरेको पनि राईले बताए ।

‘लामो समय लकडाउन हुँदा नागकरिकहरुको दैनिक जीवनमा परेको प्रभावलाई देखेर गाउँपालिकाले यो पहल लिएको हो’ राईले भने, ‘हामीले आफ्नो स्थानीय तहका नागरिकहरुलाई उद्धार गर्दा स्वास्थ्य सुरक्षालाई अति महत्वका साथ ध्यान दिएका छौं ।’

संयोजक वीरकुमार राईको अध्यक्षतामा नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद हेमकुमार राई, प्रदेश सांसदहरु बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत तथा स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा सम्पन्न बैठकले ‘सम्बन्धित स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहबाट काठमाडौंमा अत्यन्तै समस्या/विपदमा परेकाहरुको तथ्यांक संकलन गरि उद्धार नगरि नहुने अवस्थाका मानिसहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाको अवस्था अवलम्बन गरि सम्बन्धित स्थानीय तहहरुले सुरक्षा निकायहरुको सहजीकरणमा व्यवस्थापन गर्ने’लगायतको निर्णय गरेको थियो ।

उद्धार कार्य सुरु गर्ने क्रममा आयोजक सम्पर्क कमिटीका संयोजक चन्द्रप्रसाद घिमिरेले महामारीको समयमा राजनीतिक आस्थाका आधारमा नभएर मानवीयताका आधारमा उद्धार कार्य भइरहेको बताए । ‘हामी कसैलाई कुनै राजनीतिक पार्टीमा आस्था राखेकै आधारमा फरक नजरले हेर्दैनौं । यो समय राजनीतिक आस्था होइन, मानवीयतालाई हेर्ने समय हो’, घिमिरेले भने ‘विभिन्न चरणमा काठमाडौंमा विपदमा परेकाहरुको उद्धार गर्ने छौं ।’

गाडीमा जाने यात्रुहरुलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न र यदि हतारमा बिर्सिएको भए मास्क उपलब्ध गराउन थालिएको पनि घिमिरेले जानकारी गराए ।

काठमाडौंबाट गाउँ फर्कनेहरुले १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने, बाटोमा अनिवार्य रुपले मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्ने, काठमाडौंदेखि घर पुगिन्जेल खानाको व्यवस्था आफैंले गर्नुपर्ने र बाटोमा कतै पनि खाने कुरा किनेर खान नपाइने लगायतका नियम पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले वैशाख १२ गते वडा नं. ३, ४ र ६ का नागरिकहरुलाई उद्धार गर्ने र बाँकी सेड्युल बनाएर अती समस्यामा परेकाहरुलाई उद्धार गरिने जनाएको छ ।

उद्धार कार्यका लागि जनप्रतिनिधिहरुका साथै नेकपा माप्य दुधकोशी–काठमाडौं सम्पर्क कमिटी तथा नेकपाका जिल्ला कमिटी सदस्यहरु र विभिन्न तहका नेता–कार्यकर्ताहरुले समन्वय गरिरहेका छन् ।फोटो: गनेशकुमार राई

प्रकाशित मिति : शुक्रबार, १२ बैशाख २०७७ ०५:५४
प्रतिक्रिया दिनुहोस्