Logo

पर्यटन बोर्डका निवर्तमान सिइओ जोशीलाई ‘इन्टरनेसनल टुरिज्म हिरोज अवार्ड’


काठमाडौं । नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी ‘इन्टरनेसनल टुरिज्म हिरोज अवार्ड’ बाट सम्मानित हुनुभएको छ । ‘टुरिज्म रिकभरी टास्कफोर्स-नेपाल’ का संयोजकसमेत रहनुभएका जोशीले पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोराेना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि अवार्ड प्रदान गरिएको हो।

वर्ल्ड टुरिज्म नेटवर्कले दिने उक्त अवार्ड प्राप्त गरेसङ्गै जोशी ‘इन्टरनेसनल हल अफ टुरिज्म हिरोज’ को सदस्यता पाउने पहिलो नेपालीसमेत बन्नुभएको छ ।

विश्वभरिबाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क्रियाशील व्यक्तित्वलाई प्रदान गरिने उक्त अवार्ड जाेशीसँगै सेसेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्विआई ग्रुपका निर्देशक विजय पुनुसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्युब, जिम्बाब्वेका पूर्वपर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) का निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिव नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्टलेटले पनि पाएका छन्।

 

प्रकाशित मिति : मंगलवार, २५ कार्तिक २०७७ १९:२९
प्रतिक्रिया दिनुहोस्