Logo

सर्वोच्चले पहिले नै यस्तो फैसला सुनाइदिएको भए अझै खुसी हुन्थेँ : ऋषिराम कट्टेल


ओली–प्रचण्ड नेतृत्वको नेकपा आन्तरिक किचलोमा गिजोलिएका बेला सर्वोच्च अदालतले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता दिएको छ । योसँगै सत्तासीन नेकपामा यसको असर देखिनेछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगमा दर्ता गरिएको थियो । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो नाममा दर्ता भएको भन्दै कट्टेलले आयोगविरुद्ध सर्वोच्चमा मुद्दा हालेका थिए । यही मुद्दामा फैसला सुनाउँदै आइतबार सर्वोच्चले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको हो ।
फैसलापछि कट्टेलसँग गरिएको संक्षिप्त कुराकानी :

दुई वर्षपछि सर्वोच्चले तपाईंको पक्षमा फैसला सुनाएको छ, के भन्नुहुन्छ ?
सर्वोच्चले पहिले नै यस्तो फैसला सुनाइदिएको भए अझै खुसी हुन्थेँ । तैपनि खुसी नै छु ।

पहिल्यै सुनाएको भएको भन्नुकाे मतलब ?
ओली–प्रचण्डको पार्टी संकटमा परेका बेला आयो नि त फैसला ! मैले दुई वर्षअघि नै मुद्दा दर्ता गराएको थिएँ । तर, अहिले ओली–प्रचण्डको पार्टीको विवादले कसरी निकास पाउला भन्ने चौतर्फी चासोका बीच सर्वोच्चको फैसलाले धेरै कुरा सामसुम पारिदिएको छ । कतिपयले भन्दैछन्– सर्वोच्चको यो फैसलाले केपी ओलीलाई बढी फाइदा पुर्‍यायो । अरू जसलाई फाइदा पुर्‍याए पनि सर्वोच्चको फैसलाले मलाई पनि फाइदै पुग्यो । त्यसैले खुसी नै छु ।

भनेपछि सर्वोच्चबाट यस्तो फैसला आउँछ भन्नेमा तपाईं विश्वस्त हुनुहुन्न थियो ?
हेर्नोस्, मैले त रिसले मुद्दा हालेको थिएँ, जे होला, होला भनेर । अलिअलि आसा पनि थियो । तर, यिनको शक्तिको आडमा मेरो मुद्दाले निकास पाउला भन्ने लागेको थिएन । ढिलै भए पनि सर्वोच्चबाट मेरो पक्षमा फैसला आयाे ।

तपाईंलाई के लाग्छ, सर्वोच्चको फैसलाले ओली वा प्रचण्डमध्ये कसलाई बढी फाइदा भयो ?
ओली-प्रचण्डबीचको रोइलो हामी सबैले देखिरहेकै छौँ । संसद्मै एक पक्ष अर्को पक्षविरुद्ध मोर्चाबन्दीको तयारीमा थियो । फैसलापछि अब त्यो पनि केही दिनका लागि सामसुम भएको छ । ढल्न लागेको ओली सरकार केही दिन टिक्न सक्छ । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किँदा मचाहिँ माधव नेपाललाई संकटमा देख्छु । त्यसैले प्रचण्ड–माधव पक्षलाई सर्वोच्चको फैसला भूकम्प गएजस्तो भयो । अब ओली–प्रचण्ड–माधव सबैका लागि अहिले नाममा भूकम्प गयो, भोलि काममा जाला । यिनको अनुचित काम र गतिविधिमा यस खालको भूकम्प गइरहनुपर्छ ।

shilapatra

प्रकाशित मिति : आईतवार, २३ फाल्गुन २०७७ १६:३८
प्रतिक्रिया दिनुहोस्