Logo

टान अध्यक्षका बलियो दाबेदार निलहरी बाँस्तोला


काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षका लागि सफल पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले आफ्दो दाबेदारी प्रस्तुत गर्नुभएको छ । विगतमा टानको विभिन्न जिम्मेवारी सम्हाल्दै उपाध्यक्षसमेत भइसक्नुभएका बाँस्तोला भावी अध्यक्षको बलियो उम्मेद्धार भएको चर्चा पर्यटन बजारमा हुने गरेको छ ।

टानले आगामी माघ २८ गते आफ्नो ४३औँ साधारण सभासँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति घोषणा गरेको छ । यससँगै भावी नेतृत्वका लागि दाबी पेस गर्ने क्रम सुरु भएको छ ।

बाँस्तोलाले भने टानको अघिल्लो निर्वाचनताका नै अध्यक्ष बन्न सुर कस्नुभएको थियो । तर, आन्तरिक सल्लाह र सहमतिमा त्यत्तिखेर उहाँ आफ्नो अडानबाट पछि हट्नुभएको थियो । त्यसो त यस पटक टानमा आफ्नो नेतृत्वको सक्षम टिम बनाएर धरासायीउन्मुख रहेको पर्यटन क्षेत्रलाई पुनर्ताजकी गर्ने मुख्य एजेण्डाका साथ अघि बढिरहेको उहाँ बताउनुहुन्छ ।

बाँस्तोलाले एशियन हेरिटेज गु्रपअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका क्षेत्रमा लगानी छ । विगत साढे दुई दशकयता प्रत्यक्ष रुपमा नेपालको पर्वतीय पर्यटन क्षेत्रसँग उठबस गर्दै आउनुभएका उहाँले व्यवसायिक क्षेत्रको सफलतासँगै सामाजिक कार्यमासमेत आफुलाई समर्पित गर्दै आउनुभएको छ । एशियन हेरिटेज फाउण्डेशन नेपाल नामक संस्थामार्फत उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो योगदान दिदै आउनुभएको छ ।

सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिकामा जन्मिनुभएका बास्तोलाले सन् २००२ मा टानको साधारण सदस्यता लिनुभएको थियो । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गर्नुभएको छ । टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा बसेर काम गरेको अनुभव छ उहाँसँग ।

प्रकाशित मिति : बुधबार, १४ पुष २०७८ ०७:२७
प्रतिक्रिया दिनुहोस्