सफल पर्यटन व्यवसायी सापकोटालाई वर्ल्ड युनिभर्सिटी फ्रान्सको मानार्थ विद्यावारिधि उपाधि
काठमाडौं । सफल पर्यटन व्यवसायी एवम् समाजसेवी कमल सापकोटा (रामप्रसाद)लाई ‘वर्ल्ड युनिभर्सिटी अफ लिडरसिप एण्ड म्यानेजमेन्ट (उल्म) फ्रान्स’ले ‘मानार्थ विद्यावारिधि’को उपाधिद्वारा सम्मानित गरेको छ । विश्वविद्यालयले हालै युनाइटेड अरब इमिरेट्स (दुबई)मा आयोजना गरिएको दीक्षान्त समारोहमा सापकोटालाई सो उपाधिद्वारा दीक्षित गरेका हुन् ।
शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा स्थापित गरी शिक्षण र सिकाइलाई लोकतान्त्रिकरण गर्दै शिक्षामा सबैको समान पहुँच स्थापित गरी सामाजिक न्यायसहितको नयाँ विश्व दृष्टिकोणको विकास गर्ने उद्देश्यले स्थापित भएको उल्म एक विश्व प्रसिद्ध खुला विश्व विद्यालय हो । यसको मुख्यालय फ्रान्समा रहेको छ ।
यस विश्व विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्ट नेतृत्वसहित व्यावसायिक सफलता हासिल गरेका व्यक्तिहरूलाई सम्मानित गर्ने गरेको छ । लामो समयदेखि पर्यटन, समाजसेवा र राजनीतिक क्षेत्रमा सक्रिय सापकोटालाई बिजनेस एण्ड लिडरसिपको क्षेत्रमा सो उपाधि दिएका हुन् ।
विश्वविद्यालयका निर्णायक टिमले गहन अध्ययन, विश्लेषण र मूल्याङ्कन गरेर विश्वभरबाट उत्कृष्ठ व्यक्तिलाई सम्बन्धित क्षेत्रको लागि मानार्थ विद्यावारिधिको उपाधि दिने गरेका छन् ।
धादिङमा जन्मिएका सापकोटा यसअघि साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९, पर्यटन वर्ष पुरुष अवार्ड २०१७ जस्ता सम्मानहरु पाइसकेका छन् । शिखरपोष्ट मिडिया गु्रपको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा थप उन्नति र प्रगतिको लागि हार्दिक शुभकामना ।