आफुभन्दा जेठो अहिलेको पर्यटन ऐन चाँडै फेर्दैछौं : मन्त्री किराँती
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चाँडै नै नयाँ पर्यटन ऐन ल्याउने बताएका छन् । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनलाई आज (शनिबार) पोखरामा सम्बोधन गर्दै उनले आफूभन्दा जेठो ऐन काम नलाग्ने अवस्थामा पुगेकाले फेर्न लागिएको बताए ।
पर्यटन मन्त्री किराँतीले नयाँ पर्यटन ऐनले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने बताए । ‘अहिलेको ऐनमा धेरै कुराहरु सुधार्नु पर्नेछ, उनले भने, अप्ठेरो पर्ने नीति नियम फुकाउँछु । पर्यटनलाई उद्योगको रुपमा विकास गर्न सकिएन भने पर्यटनको विकास र बिस्तार हुँदैन । त्यसैले यसलाई सम्बोधन गर्न जरुरी छ ।’ उनले पर्यटक भित्राउने भनेको विदेशी रुपैयाँ भित्राउने विषय पनि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिए ।
मन्त्री किराँतीले पर्यटन ऐन बनाउन आफू फाइल लिएर मन्त्रालय पुग्नेदेखि संसदमा बहस गर्न समेत तयार रहेको बताए । आफू पर्यटन नीति बनाउन तयार भए जस्तै अरुले पनि आ–आफ्नो जिम्मेवारी भने सम्हाल्नु पर्ने उनको भनाई थियो । अहिले एकले अर्कोलाई आरोप लगाएर भाग्ने प्रवृत्ति रहेको भन्दै यो प्रवृत्ति भने त्याग्नुपर्ने उनको भनाई छ । उनले होटलमा सेवा प्रभावकारी नभएको र संस्कृति पनि विकृतितर्फ उन्मुख हुँदै गएकाले यो सुधार्न जरुरी रहेकोमा जोड दिए ।
मन्त्री किराँतीले अहिले देशमा ठुलो ठुलो कुरा गर्ने तर सानो पनि काम नगर्ने प्रवृत्ति रहेकाले देशले विकास गर्न नसकेको बताए । ‘म बिस वर्ष पछिको कार्यक्रम घोषणा गर्ने पक्षमा छैन, उनले भने, म आजको कार्यक्रम घोषणा गर्छु । आज राम्रो भयो भने बिस वर्षपछि त्यसै राम्रो हुन्छ । आज वरको सिन्का पर नसार्ने, तर बिस वर्ष पछाडिको योजना र कार्यक्रम घोषणा गर्ने र लथालिङ्ग बनाउने हाम्रो बानी छ ।’
मन्त्री किराँतीले पर्यटनबाटै परिवर्तन र विकास सम्भव रहेको बताए । त्यसैले आफूले ‘घुमौँ नेपाल, हेरौँ प्रकृति र चिनौँ संस्कृति’ भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रियस्तरमा लैजान चाहेको बताए । पोखरालाई ब्राण्डिङ र रिब्राण्डिङ गर्न पनि सुझाव दिए। यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा (शेरु) ले पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।
nayapage