भूकम्प पीडितका लागि पर्यटन मन्त्रालय मातहतका निकायहरुले ४ करोड बढि सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका निकायहरुले प्रधानमन्त्री राहत कोषमा चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, बुद्ध एयर र विभिन्न हेलिकप्टर कम्पनीहरुले सो बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
४ करोड तेह्र लाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ रकम भुकम्प पिडित राहत कोषमा जम्मा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डललाई चेक हस्तान्तरण गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिनुभयो ।
मन्त्री किरातीले आफ्नो फेसबुकम लेख्नुभएको छ ‘रु. चार करोड तेह्रलाख अन्ठानब्बे हजार नौ सय अठासी भुकम्प पिडित राहत कोषमा जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरियो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्तर्गतका निकायहरुबाट एकमुष्ट !’
यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत तथा पुनर्स्थापनाको कामका लागि सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सबैलाई आह्वान गरेको थियो ।
सोही आह्वान बमोजिम विभिन्न राजनीतिक दल, दलका संगठन, सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी र कर्मचारीहरुले राहत रकम जम्मा गर्ने क्रम जारी छ ।