Logo

माप्य दुधकोशीको महभीरमा रक क्लाइम्बिङ सुरु, विश्वविख्यात आरोही कामीरिता शेर्पाले चढे १२० मिटरको रक


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ मा अवस्थित महभिर (रोकम)मा निर्माण गरिएको ‘रक क्लाइम्बिङ सेन्टर’को औपचारिक उद्घाटन गरिएको छ ।
कोशी प्रदेशका पूर्व मन्त्रीसमेत रहनुभएका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, विश्व विख्यात पर्वातारोही कामीरिता शेर्पा, टानका अध्यक्ष निलहरी बास्तोला, गाउँपालिका उपाध्यक्ष गौरव राई लगायतले ‘रक क्लाइम्बिङ सेन्टर’को ब्यानर अनावरण गरेर उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाद्वारा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा निर्मित १२० मिटर अग्लो उक्त रक क्लाइम्बिङ सेन्टरमा विश्व विख्यात आरोही कामीरिता शेर्पाले पहिलो पटक रक क्लाइम्बिङ गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा सांसद राजभण्डारीले पर्यटन विकास र प्रवद्र्धनमा गाउँपालिकाले चालेको कदम सह्रानीय रहेको उल्लेख गर्दै सहासिक पर्यटन प्रवद्र्धनका लागि महभीरमा सुरु गरिएको रक क्लाइम्बिङलाई दीगो सञ्चालन गर्न आफ्नो तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध काम अघि बढाइरहेको उल्लेख गर्दै यसलाई सार्थक तुल्याउन सम्बन्धित सबै सरोकारवालाहरुको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । माप्य दुधकोशी गाउँपालिकाको पर्यटनका विविध सम्भावित आयममध्ये सहासिक खेललाई एउटा नयाँ प्रडक्टको रुपमा स्थापित गर्न महभीरमा रकक्लाइम्बिङ सुरुवात गरिएको भनाइ उहाँको छ ।
उनले उक्त ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय तालिम सेन्टरका रुपमा विकास गर्न गाउँपालिका लाग्ने योजनासमेत सुनाउनुभयो।

ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)का अध्यक्ष निलहरी बास्तोलाले गाउँपालिकाभित्रका सम्भावनाहरुको पहिचान गरी उजागर गर्ने कार्यको थालनी गरेकोप्रति खुशी व्यक्त गर्दै यसलाई नयाँ गन्तव्यको रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सबै तह र तप्काबाट यसरी पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनात्मक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्न सकेमात्रै समृद्धिको सपना पूरा हुने भनाइ उहाँको थियो ।

विश्व विख्यात आरोही कामीरिता शेर्पाले माप्य दुधकोशी गाउँपालिकाको प्राकृतिक, साँस्कृतिक, धार्मिक सम्पदा पर्यटन प्रवद्र्धनका लागि उत्कृष्ठ रहेको चर्चा गर्दै काम गर्दा आइपर्ने हरेक चुनौतिहरुलाई सामना गर्दै अघि बढ्न सुझाव दिनुभयो । उहाँले महभीरमा सुरु गरिएको रक क्लाइम्बिङ एक नमुना बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । पर्यटन विकासमा गाउँपालिकाले सुरु गरेको अभियानमा सबले साथ दिनुपर्ने धारणा राख्दै शेर्पाले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बचनबद्धतासमेत व्यक्त गर्नुभयो ।

टानका महासचिव विनोद सापकोटाले माप्य दुधकोशी गाउँपालिकले अघि बढाएको पदमार्गसहितको सहासिक पर्यटकीय गतिविधिहरुलाई प्याकेज बनाएर विश्व बजारमा पस्कन लायकको रहेको भन्दै टानको तर्फबाट यसलाई ‘ब्राण्डिङ’ गरेर चरणबद्ध अघि बढाउने बताउनुभयो ।

महभीर रक क्लाइम्बिङ सेन्टरमै आयोजित उद्घाटन कार्यक्रमको अवसरमा रामकाजी तिवारीले १२० मिटरको उचाईबाट र्‍यापलिङ गर्नुका साथै विभिन्न क्लाईबरहरुबाट रक क्लाइम्बिङको नमुना प्रदर्शन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी दिपक श्रेष्ठ, टानका पुर्व प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की, पूर्व सचिव पासाङ शेर्पा, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु, पर्यटन व्यवसायी, पत्रकार, स्थानीय जनप्रतिजिनधि, बुद्धिजिवीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : सोमबार, २ पुष २०८० १२:५१
प्रतिक्रिया दिनुहोस्