Logo

काठमाडौंमा ‘मुसा मसला एण्ड वाङ्छु पीक ओपन लिड क्लाइम्बिङ च्याम्पियनशिप’ हुँदै


काठमाडौं, १७ फागुन । साहसिक खेलकुद तथा खेल पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यका साथ ‘मुसा मसला एण्ड वाङ्छु पीक ओपन लिड क्लाइम्बिङ च्याम्पियनशिप २०२४’ आयोजना हुने भएको छ । काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजना तथा अमेरिकन संस्था मुसा मसाला र नेपालमा सञ्चालित वाङ्छु पिक प्रमोशन प्रालिको मुख्य प्रायोजनमा आउँदो फाल्गुन २६ गते सो प्रतियोगिता सञ्चालन गर्न लागिएको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मुख्य प्रायोजक दुबै संस्था विगत केही वर्षदेखि नेपालमा हुने विभिन्न क्लाइम्बि स्पोर्ट गतिविधिहरुमा कुनै न कुनै रुपले सहभागिताका साथै प्रवद्र्धनमा जोडिदै आएको संस्थाहरु हुन् ।

उक्त प्रतियोगिता नेपाल आरोहण खेलकुद संघ (एनसीएसए)द्धारा प्राप्त प्रतियोगिता भएको आयोजकले जनाएको छ । एनसीएसए अन्तर्राष्टिय आरोहण खेलकुद महासंघ (आइएफएससी)को सदस्य संस्था हो ।
यस प्रतियोगिताको प्राविधिक सहयोगका साथै सम्पूर्ण निर्णायक मण्डलको भूमिका नेपाल राष्टिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजीए)ले खेल्ने छ । प्रतियोगिता अवधिभर भैपरी आउने र हुनसक्ने जोखिम तथा दुर्घटनालाई ध्यानमा राख्दै सहभागि प्रतियोगि तथा प्राविधिकहरुको लागि विमाको व्यवस्था गरिने छ ।

खुल्ला प्रतियोगिता भएकाले यसमा १४ वर्षभन्दा माथि उमेर पुगेका इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खेलाडीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला पुरुष गरी झण्डै ५० जना खेलाडीहरु सहभागि हुने सेन्टरका प्रबन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारीअनुसार विहान ८ बजेदेखि १२ बजेसम्ममा पुरुष तथा महिला प्रतियोगिहरुको क्वालिफिकेशन राउण्ड सुरु हुनेछ । उक्त चरणबाट ८ जना महिला र ८ जना पुरुष फाइनलिष्टको रुपमा छनोट गरिने छ । १२ बजेपछि ब्रेक टाइम तथा फाइनल रुट सेटिको काम हुने र दिउसो २ बजेदेखि बेलुकी ६ बजेसम्म फाइनल राउण्ड सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने महिला तथा पुरुष प्रतियोगिहरुलाई विजेता घोषित गरी पुरस्कारस्वरुप नगद राशीसहित मेडल प्रमाणपत्रका साथै प्रतियोगिताका अन्य प्रायोजकहरुले उपलब्ध गराउने सामाग्रीहरु प्रदान गरिने छ । प्रतियोगिता आईएफएससीको नियम र मापदण्डअनुसार सञ्चालन गरिने छ ।

वाङ्छु पिक प्रमोशन प्रालिकी प्रमुख तथा यूवा पर्यटन व्यवसायी लाक्पा शेर्पाले यस खालको प्रतियोगिताले खेलाडिहरुको हौसला बढ्नुका साथै साहासिक खेलकुदको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो प्रतियोगिताका लागि इटालियन ब्राण्ड (एससीएआरपीए), ब्लयाक डाइमण्ड, बीईएएल, क्यासल एसजी, टोकियो पाउडर ईन्डस्टिज, इन्फिनिटी वेयर, बज्र फिटनेस, पांग्रो एण्ड पेरिविंकल सर्भिसलगायतले प्रायोजन गरेका छन् । त्यस्तै फ्रान्समा अवस्थित सुपर क्लाइम्बिङ प्रतियोगिताको कन्टिव्यूसन प्रायोजक रहेको छ भने ल्याण्डमार्क होट एण्ड रिसोर्ट हस्पिटालिटी पार्टनर, स्टार हस्पिटल मेडिकल पार्टनर, भिजन सेक्युरिटी प्रालि सेक्युरिटी पार्टनर रहेको छ ।

 

प्रकाशित मिति : बिहीबार, १७ फाल्गुन २०८० २०:०४
प्रतिक्रिया दिनुहोस्