भिटोफ नेपालमा देवकोटा नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मत, भागबण्डा प्रवृत्ति रोक्न सकारात्मक सुरुवात
काठमाडौं । गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल)को अध्यक्षमा सकुन्तला पाण्डे देवकोटा निर्बिरोध चयन भएका छन् । आगामी १७ चैत्रमा हुन लागेको भिटोफ नेपालको २५ औं साधारणसभा तथा १२ औं अधिवेशन मार्फत औपचारिक घोषणा हुने भएपनि नयाँ कार्यसमिति चयनका लागि अघि बढाइएको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन दर्तामा अध्यक्षमा देवकोटाको मात्रै नाम परेको हो ।
देवकोटा भिटोफ नेपालमा पहिलो महिला अध्यक्ष बनेका हुन् । देवकोटा नेतृत्वमा बनेको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिशरण थपलिया, द्वितीय उपाध्यक्षमा मनहरी दाहाल, महासचिवमा चोपेन्द्र बहादुर खड्का , सचिबमा बिनोद वस्ती, कोषाध्यक्षमा रघुनाथ पौडेल, सह – कोषाध्यक्षमा नवराज तिवारी निर्वाचित भएका छन।
त्यस्तै सदस्यमा सागर आचार्य, प्रज्वल अर्याल, रामेश्वर चौधरी, सृष्टि भन्डारी सर्वसम्मत बनेका छन् । भिटोफ नेपालले ग्रामीण क्षेत्रमा भएका पर्यटकीय सम्भावनाहरूको पहिचान गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरेर पर्यटन विकासमा भूमिका खेल्दै आएको छ ।
भिटोफ नेपालको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिनुलाई पर्यटकीय संघसंस्थाहरुमा हुने गरेका भागबण्डाको प्रबृत्ति अन्त्य गर्ने सकारात्मक सुरुवातको रुपमा ब्याख्या गरिएको छ ।
पर्यटन क्षेत्रमा क्रियाशिल बिभिन्न दलनिकट पर्यटन व्यवसायी संगठनका नेतृत्वहरुले सबै पर्यटकीय संघसंस्थाको नेतृत्व सर्वसम्मत गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर सर्वपक्षीय सहमति गरिएको प्रतिक्रिया दिएका छन् ।