Logo

बैशाख ६ र ७ मा साल्पा सिलुछो दर्शनसँगै सुम्निमा–पारुहाङ (नीनामरीदुम–पारुपा)को प्रतिमा अनावरण हुँदै


काठमाडौं, १७ चैत्र । साल्पा सिलिचुङ/सिलुछो दर्शनसँगै सुम्निमा–पारुहाङ (नीनामरीदुम–पारुपा)को प्रतिमा तथा किराँती धामी बिजुवा नोक्छो/नोक्छोङ पार्क अनावरण हुने भएको छ । साल्पा सिलिछो गाउँपालिका भोजपुर र साल्पा सिलिचुङ/सिलुछो सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको संयुक्त आयोजनामा आउँदो २०८१ वैशाख ६ र ७ गते कुलुपोङखो र साल्पा पोखरीको बीचमा रहेको माबु बजारमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

“साल्पा सिलिचुङ/सिलुछो मुन्दुमको प्राण, पर्यटन विकास र प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रम पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीको प्रमुख आतिथ्यता रहने आयोजकले शिखरपोष्टलाई जानकारी दिएको छ ।

साल्पा सिलिचुङ/सिलिछो परियोजना अन्तर्गत पहिलो चरणको अनावरण गर्ने कार्यक्रममा किरात जन्य विभिन्न संघ संस्थाको प्रतिनिधिहरु, कलाकारहरु, लेखक तथा साहित्यकारहरु, इतिहासविद पू्र्खाहरु, पत्रकारहरु साथै विश्वभरका किरातीहरुलाई सोही कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा पत्र पठाइसकिएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मुलघरे कान्छाले बताएका छन् ।

अनावरण कार्यक्रममा विश्वभरिका ५ सय जनाभन्दा बढिको सहभागिता रहने अनुमान आयोजकको छ ।


के हो साल्पा–सिलुछो/सिलिचुङ ?
किरातीहरुको मुन्दुमअनुसार साल्पा–सिलिचुङ/सिलुछो पवित्र मुन्दुमी स्थल साथै मुन्दुम मान्ने विश्वभरका किरातीहरुका लागि एक पवित्र धार्मिक तथा साँस्कृतिक स्थल हो । मुन्दुमअनुसार किरातीहरुको आदिम पूर्खाहरु रिकापा–रिभ्यामा, साल्पाहाङ–रिब्रिहाङमा/रिब्रिमा त्यस्तै कुलुङ मिथकअनुसार खालिङको पूर्खा माप्य कुलुङको पूर्खा छेम्सी, राताप्खु र ताम्सी जस्ता आदिम पूर्खाहरुको साल्पा सिलिचुङ/सिलुछो आदिम थलो अर्थात् बासस्थान मानिन्छ ।

त्यसैले, किरातीहरुको साँस्कृतिक नायकहरु/संस्कृतिविद (नोक्छो, नछुङ, माङ्पा, नागिरे, सेलेमोप, देःमोप, मोबोछा, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी अर्थात समग्रमा धामी बिजुवा)हरु वर्षेनी मुन्दुमी शक्ति आर्जन गर्नका लागि साल्पा–सिलिचुङ/सिलुछो जाने गर्दछन् ।

हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम्, मुस्लिमहरुको मक्का–मदिना, बुद्धिष्टहरुको लुम्बिनी महत्वपूर्ण भएजस्तै किरातीहरुको साल्पा सिलिचुङ/सिलुछो अत्यन्तै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल तथा किरात धार्मिक तथा साँस्कृतिक स्थल, किरात साँस्कृतिक सम्पदाको रुपमा मान्न सकिन्छ । तसर्थ, किरातीहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा साँस्कृतिक स्थल साल्पा–सिलिचुङ/सिलुछोलाई संरक्षण र प्रवद्र्धन गर्न साथै सुम्निमा–पारुहाङ/नीनामरीदुम–पारुपाको प्रतिमा, विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा तथा चिण्डो आकारको गेट निर्माणसँगै (मुन्दुम/रीदुम संग्रहालय) समेत निर्माण गरेर साल्पा सिलिचुङ/सिलुछोलाई किरात साँस्कृतिक सम्पदाको रुपमा स्थापना गर्नका लागि देश विदेशमा आर्थिक संकलन हुने कार्य तीब्र भइरहेको समितिका अध्यक्ष मुलघरे कान्छाले जानकारी दिए ।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले यस पवित्र ऐतिहासिक महाअभियानलाई सफल बनाउन आर्थिक संकलन उपसमिति, अध्ययन अनुसन्धान उपसमिति, दर्ता उपसमिति र प्रचारप्रसार विभाग उपसमिति गठन गरी विभिन्न व्यक्ति, व्यक्तित्व तथा संघ–संस्थाहरुलाई सहयोग र समर्थनका लागि अपिल गरिरहेको छ ।


काठमाडौंबाट साल्पा जाने मार्गहरु: 
रुट नं. १ः
गाडीमा काठमाण्डौबाट सोलु महाकुलुङ गुदेलसम्म १ दिन, महाकुलुङ गुदेलदेखि ८ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने । हवाई मार्गमार्फत काठमाडौंबाट सोलुको फाप्लु एयरपोर्टमा अवतरण गरेपछि त्यहाँबाट महाकुलुङ गुदेलसम्म गाडीमा ५ घन्टामा पुगिने । महाकुलुङ गुदेलदेखि ८ घण्टामा साल्पा पुग्न सकिन्छ ।
रूट नं. २ः
हवाई मार्गमार्फत काठमाडौंबाट संखुवासभा तुम्लिङटार अवतरण गरेर तुम्लिङटारबाट गाडीमा तेन्दो फेदी हुँदै चेक्सिलासम्म १ दिन, चेक्सिलादेखि ३ घण्टा पैदल यात्रा ।

नेपालको पूर्वी क्षेत्रबाट साल्पा जाने मार्गहरु:
रुट नं. १ः गाडीमा धरानदेखि संखुवासभा तुम्लिङटारसम्म ६ घन्टा, तुम्लिङटारदेखि कार्तिके घाटसम्म २ घन्टा, कार्तिके घाटदेखि फेदी चेक्सिलासम्म ८ घन्टा । र, चेक्सिलादेखि ३ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुग्न सकिन्छ ।
रुट नं. २ः गाडीमा धरानबाट भोजपुर चखेवा भञ्ज्याङ १ दिन, चखेवा भञ्ज्याङ्देखि मुन्दुम पदमार्ग हुदै २ दिन पैदल यात्रा, जम्मा ३ दिनमा साल्पा पुगिने । रुट नं. ३, गाडीमा धरानदेखि उदयपुर कटारी, घुर्मी हुँदै खोटाङको केपीलासगढीसम्म १ दिन, केपिलासगढी सुङ्देलबाट पुरै १ दिन पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिनेछ ।

तस्वीरका लागि महाकुलुङ टेलिभिजनलाई धन्यवाद

प्रकाशित मिति : शनिबार, १७ चैत्र २०८० २१:०४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ