Logo

पर्यटन बोर्डका नवनियुक्त उपाध्यक्ष सापकोटालाई प्रधानमन्त्री प्रचण्डको बधाई


काठमाडौं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा चयन भएका रामप्रसाद सापकोटासहितको टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

उपाध्यक्ष सापकोटासहितको टिमलाई प्रधानमन्त्री प्रचण्डले आज मंगलबार बिहान बालुवाटार बोलाएर भेट गर्दै बधाईसहित राम्रो कामका लागि शुभकामना दिनुभएको हो । गत चैत्र १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसंगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ ।

पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको थियो । सापकोटासहित कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतवार मात्रै नेपाल पर्यटन बोर्डले औपचारिक रुपमा स्वागत गरेको थियो ।

प्रकाशित मिति : मंगलवार, ४ बैशाख २०८१ १३:३७
प्रतिक्रिया दिनुहोस्