Logo

‘एभरेष्ट भ्यू ट्रेल म्याराथन’ सम्पन्न, पर्यटन हब बन्दै माप्य दुधकोशी


सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा पर्यटकको चहलपहल सुरु भएको छ । केही महिना अघि गाउँपालिकाले एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको औपचारिक सुरुवात गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको हो ।

यस क्षेत्रको पर्यटन प्रवर्द्धनार्थ विभिन्न पर्यटकीय गतिविधिहरु सञ्चालन गर्ने क्रममा गाउँपालिकाले नयाँ ब्राण्डको रुपमा ‘एभरेष्ट भ्यू ट्रेल म्याराथन’ सुरुवात गरेको छ । गाउँपालिकाले ४७ किलोमिटर दूरीको प्रथम एभरेष्ट भ्यू ट्रेल म्याराथन प्रतियोगिता विहिबार सम्पन्न गरेको हो ।

एभरेष्ट भ्यू ट्रेल म्याराथन’को उपाधि अर्जुन र सविनालाई

बार्षिक रुपमा सञ्चालन गर्ने उदघोषसहित सम्पन्न उक्त प्रतियोगिताको खुल्ला तर्फको प्रथम उपाधि महाकुलुलुङका अर्जुन कुलुङले उचालेका छन् । ४ घण्टा ३८ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै कुलुङले प्रथम उपाधि उचालेका हुन् ।

खुल्ला तर्फको दोश्रो स्थान त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै जितेका छन भने तश्रो स्थान महाकुलुङकै सुमन कुलुङले जितेका छन् । उनले निर्धारित दूरी ५ खण्टा १ मिनेट ५६ सेकेन्डमा पार गर्दै तेश्रो स्थान हासिल गरेका हुन् ।

खुल्ला महिला तर्फ भने भारत कालेम्पुङकी सविना राईले निर्धारित ४७ किलोमिटर दूरी ६ घण्टा ९ मिनेट १० सेकेन्डमा पार गर्दै प्रथम उपाधि उचाल्न सफल भएकी छिन् । दोश्रो स्थान खोटाङकी निर्मला राईले जितेकी छन् उनले निर्धारित दूरी ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा पार गरिन् । खुल्ला महिला तर्फको तेश्रो स्थान ल्हाक्पा निङ्मा शेर्पाले निर्धारित दुरी ६ घण्टा ४० मिनेट ३५ सेकेन्डमा पार गर्दै हात पारेकी छिन् ।

यता विधागत प्रतिष्पर्धाको ३० देखी ४९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र  टिकामान राईले जितेका छन् भने महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः अनिता राई, शुस्मा राई र आङ छुटिङ शेर्पाले जितेका छन् ।

यस्तै १८ देखी २९ वर्षको उमेर समुहमा पुरुष तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेतले जितेका छन् भने महिला तर्फको प्रथम द्वितीय र तृतीय स्थान क्रमशः हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राईले हात पारेका छन् ।

उक्त प्रतियोगितामा ५० देखी ६५ उमेर समुहको पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय स्थान अन्तबिर राई, काजिमान राई र भीम बहादुर तामाङले हात पारेका छन् भने महिला तर्फको प्रथम स्थान एकल प्रतिस्पर्धी ५४ वर्षीय सुनबरी राईले हात पारेकी छन् ।

२०३ जनाको सहभागीता रहेको उक्त प्रतियोगितामा प्राविधिक जिम्मेवारी मिरा राई इनिसिएटिभ पाएको थियो भने प्राविधिक जिम्मेवारी अन्तर्राष्ट्रिय धाविका मिरा राई आफैले पुरा गरेकी थिइन् ।

 

प्रकाशित मिति : बिहीबार, १३ बैशाख २०८१ ०७:३१
प्रतिक्रिया दिनुहोस्