एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ मनाइदै
सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । सन् २०२५ मा आन्तरिक तथा बाहृय गरी एक लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागिएको हो ।
भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्ष लगायत महोत्सव आयोजना गरिने राईको भनाई छ ।
मुन्दुम ट्रेल किरात समुदायको सघन बसोबास रहेको खोटाङ, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा लगायत पर्यटकीय क्षेत्रहरू पर्दछन् ।
सोमबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी गरिएको जानकारी दिए ।
भ्रमण वर्षका लागि खाना, बस्न, खानेपानी, शौचालय, पार्टी–पौवा लगायत संख्या बढाउन र सेवा सुविधा थप्न आवश्यक छलफल भइरहेको राईले जनाए । ‘पर्यटकका लागि अत्यावश्यक सेवा सुविधा थप्नुपर्ने आवश्यकता छ,’ राईले भने–‘सूचना तथा उद्धार केन्द्र स्थापनादेखि अन्य व्यवस्थापकीय काममा ध्यान दिनुपर्नेछ ।’