पर्यटन बोर्डका नवनियुक्त सिइओ जोशीले गरे पद बहाली, पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता
काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ) दीपकराज जोशीले पद बहाली गरेका छन् । आइतबार पद बहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै नवनियुक्त सिइओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए । “पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो । अर्कोतर्फ पर्यटन बोर्ड (पीपीपी) को मोडल हो । निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ । त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यक्ता हो” उनले भने ।
आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले समूह कार्यबाट ती सबैकाम गर्न सकिने बताए । उनले आफू कुनै पूवाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
सो अवसरमा बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नवनियुक्त कार्यकारी प्रमुखको अनुभवले बोर्डले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिइन् । यस्तै कर्मचारी युनियनको तर्फबाट स्वागत गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले लामो समय देखि कर्मचारीको वृति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका ती माग सम्बोधन हुने अपेक्षा गरिएको बताए ।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई ४ वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको थियो । नवनियुक्त सिइओ जोशीले यसअघि पनि बोर्डको सिइओका रुपमा काम गरिसको छन् ।