पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी जोशीविरुद्ध डा. रेग्मीले दायर गरे रिट
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारीमा दिपक जोशीलाई नियुक्त गरिएको विरुद्ध सर्बोच्च अदालतमा रिट परेको छ । अन्तिम तीन जनामध्ये जोशीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको भन्दै प्रतिस्पर्धी डा. धनन्जय रेग्मीले रिट दायर गरेका हुन् ।
आफू माथि अन्याय गरेको भन्दै जोशीको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न आदेश माग समेत गरेका छन् । पर्यटनमन्त्री बद्री पाण्डेको निर्देशनमा सीईओ छनौट समितिले वर्णानुक्रमअनुसार सिफारिस गरेर जोशीलाई नियुक्त गरेको रेग्मीको आरोप छ ।
निवर्तमान सीईओसमेत रहेका रेग्मीले विज्ञहरूको नम्बरका आधारमा आफू पहिलो भए पनि मन्त्री पाण्डेले अनूचित प्रभावमा परेर जोशीलाई सीईओ नियुक्त गर्न छनौट उपसमितिलाई निर्देशन दिएको दाबी गरेका छन् । पर्यटन मन्त्रालयकी उपसचिव इन्दु घिमिरेको संयोजकत्वमा रहेको उपसमितिमा बोर्डका सदस्य मदन आचार्य र मिलन देवकोटा सदस्य थिए ।
रिट निवेदमा रेग्मीले आवदेकले परीक्षामा पाएको प्राप्तांक नै नहेरी गरिएको नियुक्ति र नियुक्ति पत्रले वैधानिक प्राप्त गर्न नसक्ने जिकिर गरेका छन् । उनले कार्यकारी पदमा नियुक्ति गर्दा यसअघि सर्वोत्कृष्ट अंक ल्याउनेलाई नियुक्ति दिइएको दृष्टान्तको समेत यसपटक अवज्ञा भएको दाबी गरेका छन् ।
रेग्मीको रिटमाथि सुनुवाइका लागि बुधवार पेशी तोकिएको छ ।