चौंरीको रौं र पुच्छरमा लुकेको संस्कृति र आम्दानी: लोपोन्मुख परम्परागत सामग्रीको माग बढ्दो

काठमाडौं – हिमाली भेगको पहिचान र संस्कृतिसँग जोडिएका चौंरीको रौं र पुच्छरबाट बनेका सामग्रीहरूले पछिल्लो समय सहरमा समेत राम्रो बजार पाउन थालेका छन्। कुनै बेला उच्च हिमाली क्षेत्रमा मात्र सीमित यी परम्परागत उत्पादनहरू अहिले सांस्कृतिक पहिचान र आम्दानीको बलियो स्रोत बन्न थालेका छन्, जसको संरक्षण र प्रवर्द्धनमा युवाहरू जुटिरहेका छन्।
याक चौंरी कृषक महासंघ, नेपालको स्टलमा भेटिएकी खान्दुहाङ्मा राई यस्तै परम्परागत सामग्रीको महत्व र बजारबारे उत्साहका साथ जानकारी दिन्छिन्। उनका अनुसार, चौंरीको रौं र पुच्छरबाट बनेका यी वस्तुहरू सामान्य उत्पादन मात्र नभएर विभिन्न जातजातिको गहिरो सांस्कृतिक आस्थासँग जोडिएका छन्।
१९ हजार पर्ने ‘लुकुनी’
चौंरीको बाक्लो रौं (फाइबर) बाट हातले बनाइएको विशेष प्रकारको लुगालाई ‘लुकुनी’ भनिन्छ। यो बाक्लो र न्यानो हुने भएकाले विशेषगरी हिमाली क्षेत्रका मानिसहरूले जाडोबाट बच्न लगाउने गर्छन्। तर, यसको मौलिकता र बनावटका कारण अहिले काठमाडौं जस्ता सहरमा पनि यसको माग बढ्न थालेको छ।
“यो पूर्ण रूपमा हातले बनाइन्छ, कुनै मेसिनको प्रयोग हुँदैन। रौंलाई उसिनेर, खुट्टाले मिचेर लामो र कठिन प्रक्रियाबाट तयार पारिन्छ,” खान्दुहाङ्माले भनिन्, “जति लगायो, यो उति नरम र आरामदायक हुँदै जान्छ।”
यसको मूल्य साइज, रङ र बनावटअनुसार फरक पर्छ। कालो रङको चौंरी दुर्लभ हुने भएकाले कालो लुगुनीको मूल्य बढी पर्छ। फोटोमा देखाइएको कालो लुगुनीको मूल्य रु. १९,००० रहेको छ भने यसको सुरुवाती मूल्य रु. ४,००० बाट हुन्छ।
९ हजारको ‘पोमी’ र यसको सांस्कृतिक महत्व
त्यस्तै, चौंरीको पुच्छर, जसलाई विभिन्न समुदायमा फरक-फरक नामले चिनिन्छ, यसको सांस्कृतिक महत्व निकै गहिरो छ। राई समुदायमा यसलाई ‘पोमी’ भनेर चिनिन्छ र साकेला नाचमा यसको विशेष प्रयोग हुन्छ।
“हामी राईहरू साकेला नाच्दा यसलाई हल्लाएर नाच्छौं,” उनले बताइन्, “त्यस्तै, नेवार समुदायमा लाखे नाचमा लाखेको टाउकोमा यही चामर प्रयोग हुन्छ भने आर्यन समुदायमा पूजाआजाका लागि यसलाई पवित्र मानिन्छ।”
म रेको चौंरीको पुच्छरलाई संरक्षण गरेर बनाइने यो चामरको मूल्य पनि यसको रङ र गुणस्तरमा भर पर्छ। सेतो र कालो दुवै रङमा पाइने एक जोडी (सेतो र कालो) चामरको मूल्य रु. ९,००० सम्म पर्ने उनले बताइन्।
यी बहुमूल्य सामग्रीहरू नेपालका विभिन्न हिमाली जिल्लाका किसानहरूबाट संकलन गरेर बजारसम्म ल्याइएको हो। उत्पादन प्रक्रिया लामो र जटिल भएकाले अधिकांश सामग्रीहरू अर्डरअनुसार तयार पारिन्छ।
खान्दुहाङ्मा जस्ता युवाहरूको प्रयासले एकातिर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाएका छन् भने अर्कोतिर लोप हुन लागेका परम्परागत सीप र संस्कृतिको संरक्षणमा टेवा पुगेको छ। यसले हिमाली किसानको जीविकोपार्जनलाई बलियो बनाउनुका साथै नेपालको मौलिक पहिचानलाई सहर र विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
#krishisuchana #krishinews