एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्गको काठमाडौंमा अफिसियल लञ्चिङ, वृत्तचित्र तथा प्रचारमूलक सामाग्री पालिकाको वेवसाइटमा राखिने

काठमाडौं, १६ भाद्र । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले “एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्ग”को अफिसियल लञ्चिङ काठमाडौंमा सम्पन्न गरेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा तयार गरिएको उक्त पदमार्गसम्बन्धी वृत्तचित्र, आइटेनरी तथा रुट स्केच, म्याप, ब्रोसरलगायतका प्रचारमूलक सामाग्रीहरु सोमबार पर्यटन बोर्डको हलमा आयोजित एक समारोहबीच रक्षामन्त्री मानबीर राईले सार्वजनिक गरेका हुन् ।
आज सार्वजनिक गरिएका सबै सामाग्रीहरु गाउँपालिकाको वेवसाइटमा राखिनुका साथै टान र नेपाल पर्यटन बोर्डमार्फत व्यवसायी र कम्पनीहरुलाई पठाइने जनाइएको छ ।
सम्बद्ध पर्यटकीय संघसंस्थाका नेतृत्व तथा प्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले यो नयाँ पदमार्गलाई दीर्घकालिन रुपमा सञ्चालन गर्नका लागि समयसापेक्ष मार्केटिङ तथा ब्राण्डिङ गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले यस क्षेत्रको विकासमा यो पदमार्गको प्रमुख भूमिका रहने बताए । उनले स्थानीय तह सरकारले सुरुवात गरेको यो कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकार्य गर्नका लागि सबैलाई आह्वानसमेत गरे ।
टानका अध्यक्ष सागर पाण्डेले यो पदमार्गलाई प्रकृति र संस्कृतिसँगै अर्गानिक कृषि उत्पादनसँग जोड्नुपर्ने बताए । अध्यक्ष पाण्डेले नयाँ पदमार्ग उद्घाटन जति महत्वपूर्ण कुरा हो त्यसलाई दीगो रुपमा सञ्चालन गरेर स्थानीय समुदायको आर्थिक उपार्जन गराउनु त्यो भन्दा झन महत्वपूर्ण भएको बताए । पदमार्गको वृद्धिविकासका लागि डिजिटल मार्केटिङलाई नियमित रुपमा गर्न गराउनका लागि गाउँपालिका र सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाभित्रको प्राकृतिक एवं साँस्कृतिक सौन्दयतालाई बजारिकरण गरेर त्यसको माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यमुताविक यो पदमार्गलाई अघि बढाइएको बताए । उनले यसको लागि सहयोग र सहकार्य गर्ने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तरताका लागि आह्वानमसमेत गरे ।
टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, महासचिव सोनाम ग्याल्जेन शेर्पा, पूर्व उपाध्यक्ष बच्चु नारायण श्रेष्ठ र चोलेन्द्र कार्की तथा शेर्पा पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष पासाङ शेर्पालगायतले पदमार्ग हरेक हिसाबले सम्भावनायुक्त भएको उल्लेख गर्दै यसलाई स्थापित गराउनका लागि सबै लाग्नुपर्ने सुझाव दिएका थिए ।
आन्तरिक तथा वाह्य पर्यटकका लागि उपयुक्त सो पदमार्ग ५ देखि ९ दिनसम्म लम्ब्याउन सकिने छ । सिलगुढी डाँडाबाट सुरु हुने पदमार्ग घुम्नेमेरा, कुधम डाँडाबाट लालिगुराँसको बगैँचा तथा सुन्दर प्राकृतिक भ्यु पोइन्ट र जङ्गलहरू छिचोल्दै योतेल्म्य पर्यटन सेल्टर, राप्छा, बासा, खास्ताप, जुभिङ, वाकु हुँदै काँकुलाई समेत समेटिएको छ ।
उक्त पदमार्गमा गत वर्ष कीर्तिमानी व्यक्तित्वहरु, पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा राष्ट्रियय स्तरका मिडियाकर्मीहरुको सहभागितामा एक फाम ट्रिपको आयोजना गरिएको थियो । त्यस्तै, सोही पदमार्ग प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षबाट वार्षिक रुपमा अन्तर्राष्ट्रिय स्तरको एभरेष्ट भ्यू टे«ल म्याराथनसमेत सञ्चालन सुरु गरिएको छ ।