घुम्न आउने पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकाको विशेष स्वागत सत्कार
सोलुखुम्बु / पर्यटकीय सिजनसँगै माप्य दुधकोशी गाउँपालिकामा अवस्थित एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्गमा चहलपहल उल्लेख्य रूपमा बढेको छ । नयाँ पदमार्गको रुपमा प्रवर्द्धन गरिएको यस क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकहरुले धमाधम प्याकेज सेल गर्न थालेका हुन् ।
यसैबीच यस क्षेत्रको प्याकेज बनाएर घुम्न आइपुगेका फ्रान्सेली पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राईसहितको टोलीले भव्य स्वागत तथा सत्कार गरेको छ ।
माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ स्थित सेतिहालबाट सुरु गरेर काँकुको पास्दा झरना, आइतबारे, बासा खास्ताप, राप्छा योतेल्म्य हुदै घुम्ने मेरा गुम्बामा आइपुगेको विदेशी टोलीलाई गाउँपालिकाको तर्फबाट खाँदा मालाले स्वागत गरिएको हो । घुम्ने मेराबाट सिलगुडीको सिन्याई गोठस्टेमा एक रात बसेर फाप्लु विमानस्थलबाट काठमाडौं उड्ने उनीहरुको योजना छ ।
केही दिन अगाडि मात्रै २० जनाको जम्बो टोलीले यो पदमार्गको भ्रमण गरेको थियो । सो टोलीलाई पनि गाउँपालिकाले यसैगरी स्वागत सत्कार गरेको थियो ।
गाउँपालिकाले ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा सो पदमार्गको पहिचान गरी अघिल्लो वर्ष मात्रै औपचारिक उदघाटन गरेको थियो । समुद्री सतहबाट दुधकोशी नदीको कायास्थित ९ सय ४१ मिटरदेखि आरानडाँडाको भ्यु प्वाइन्ट ३ हजार ३ सय १० मिटरको उचाइसम्म फैलिएको विविधतायुक्त प्रकृति र संस्कृतिको अनुभव लिन सकिने यस पदमार्ग खुम्बु क्षेत्रको मुख्न प्रवेशद्वार पनि हो ।
प्रकृति र संस्कृतिको उत्कृष्ट संयोजन रहेको पदमार्ग सबै उमेर समूह र सिजनका लागि उपयुक्त रहेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई बताउनुहुन्छ । गाउँपालिकाले पर्यटन क्षेत्र प्राथमिकतामा राखेर काम गरिरहेको र यो पदमार्गमा थप पर्यटकीय संरचना निर्माणको योजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी पनि उहाँले दिनुभयो ।
भ्रमण टोलीको लिडर तथा पर्यटन व्यवसायी कवि राईले यस पदमार्गले अति मन्त्रमुग्ध बनाउने भएको उल्लेख गर्दै यसको प्रवर्द्धन र प्रचारमा स्थानीय सरकार र सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । आफ्नो विदेशी पाहुनाहरुले आपसी कुराकानी गर्दा साच्चिकै छोटो समयमै यत्ति धेरै अनुभवसहित रमाइलो र राम्रो रुट नभएको अनुभव सुनाएको पनि उहाँले बताउनुभयो । यहाँ ठाउँ ठाउँमा होमस्टे, गोठस्टे तथा सेल्टर हरुको व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ थियाे ।

