साल्पासिलिछो साँस्कृतिक तथा साहित्यिक महोत्सव २०८३ को तयारी पूरा
काठमाडौं, १७ बैशाख । साल्पासिलिछो साँस्कृतिक तथा साहित्यिक महोत्सव २०८३ हुँदैछ । भोजपुर साल्पासिलिछोको साल्पा संरक्षण तथा पर्यटन प्रवद्र्धन विकास केन्द्रको आयोजनामा यही बैशाख १८ गते सो महोत्सव आयोजना गर्न लागिएको हो ।
मुन्दुम पदमार्गको साल्पासिलिछोको माबु बजारमा आयोजना गर्न लागिएको महोत्सवको सम्पुर्ण तयारी पूरा भएको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो ।
मुन्दुम पदमार्ग नेपाल सरकारद्वारा घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य स्थलको रुपमा सुचिकृत तथा कोशी, प्रदेश–सरकारको पर्यटकीय गौरवको आयोजना अन्तर्गत विश्वकै एक सुन्दर, शान्त र मनोरम पदमार्ग हो ।
यस क्षेत्रको ऐतिहासिक, साँस्कृतिक, धार्मिक साथै पर्यटकीय स्थल साल्पा पोखरी र सिलिछो क्षेत्रको संस्कृति, साहित्य र प्रकृतिको संरक्षण तथा मुन्दुम पदमार्गको प्रवद्र्धन गरी पदमार्गसँग जोडिएका विभिन्न जिल्ला र सम्बन्धित पालिकाहरुको सामाजिक, आर्थिक विकास गरी, स्व–रोजगारको सृजना गर्दै गरिबी निवारण गर्ने प्रमुख उद्देश्यका साथ यो महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवको आर्थिक व्यवस्थापन साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले गर्नेछ । कार्यक्रम विहान ८ गतेदेखि सुरु हुने जनाइएको छ ।

