टानको सहजीकरणमा “नेपालको हिमाली क्षेत्रमा जलवायु उत्थानशील पर्यटन योजना निर्माणका लागि क्षमता” विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौं/ त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सीनास)ले ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) सँग “नेपालको हिमाली क्षेत्रमा जलवायु उत्थानशील पर्यटन योजना निर्माणका लागि क्षमता” विषयक सरोकारवालासँगको परामर्श बैठक आयोजना गरेको छ।
टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको अध्यक्षता, प्रो. डा. ईश्वर कोइरालाको प्रमुख आतिथ्यता तथा मोहन सिंह लालचनको विशेष अतिथ्यतामा उक्त परामर्श बैठक सम्पन्न भएको हो ।
बैठकको प्राविधिक सत्र सह-प्रमुख अनुसन्धानकर्ता तथा सहप्राध्यापक डा. राजन बिनायक पासाले सञ्चालन गर्नुभएको थियो । साथै प्रमुख अनुसन्धानकर्ता तथा सहप्राध्यापक डा. रत्नमणी नेपालले अनुसन्धानका उद्देश्य, कार्यविधि तथा अपेक्षित उपलब्धिहरूबारे प्रस्तुति दिनुभएको थियो ।
टानका तर्फबाट बैठकका अध्यक्ष कर्मा शेर्पा तथा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेडाईले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेका चुनौती र सम्भावनाबारे धारणा राख्दै सीनास/टीयूले गरिरहेको अनुसन्धानको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा ट्राभल तथा ट्रेकिङ, पर्वतारोहण, होटल तथा आवास, शैक्षिक क्षेत्र, स्थानीय तह तथा स्वतन्त्र अनुसन्धानकर्तासहित विभिन्न क्षेत्रका २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


