Logo

भ्रमण वर्षमा पहिलो साहसिक खेल : दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल माघ १८ देखि सुरु


नेपाल भ्रमण वर्षमा पहिलो साहसिक खेलको आयोजना हुने भएको छ। मनाङको हुम्देमा माघ १८ देखि २७ गते सम्म दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने भएको हो।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमै पहिलो र नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुसँगै पहिलो पटक साहसिक खेल प्रतियोगिता आयोजना हुने आयोजक संस्था नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताए। फेस्टीबलमा विभिन्न देशका गरी ४५ जनाले सहभागिता जनाउने छन्।

कार्यक्रम साहसिक पर्यटनको प्रवर्द्धन गर्दै आएको नेपाल क्लाइम्बिङ टिम नामक संस्था सहआयोजक र व्यवस्थापकको रुपमा रहेको छ। आर्थिक समस्याले धेरै सहभागिता गराउन नसकेता पनि साहसिक खेल प्रतियोगिता सञ्चालन गर्ने तयारी थालेको आइस क्लाइम्बिङ टिमका महासचिव विष्णु तामाङले बताए। कार्यक्रमलाई नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपालले पनि सहयोग गरेको छ भने पर्यटन मन्त्रालयले प्रवर्द्धनको जिम्मा लिएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक, नेपाल पर्वतारोहण प्रशिक्षक संघले प्राविधिक सहयोग गरेका छन्।

अन्नपूर्ण हिमश्रृङ्खलाअन्तर्गत रहेको तीन हजार दुई सय मिटरको हुम्दे क्षेत्र आइस क्लाइम्बिङको मुख्य हव रहेको आयोजकको भनाइ छ। संसारमै हिमालको हवको देशले चिनिने नेपालमा पर्यटन क्षेत्रको मुख्य आकर्षक गन्तव्यनै हिमाल र साहसिक पर्यटन भएकाले आइस क्लाइम्बिङ फेस्टिबललाई आगामी दिनमा समेत प्रभावकारी बनाउदै लैजाने तयारी थालेको पर्वतारोहण संघले जनायो।

फेस्टिबलमा आइस क्लाइम्बिङ कोर्ष, फोटोग्राफी, एडभेन्चर फिल्म प्रर्दशनी, स्थानीय जातजातिका संस्कृति प्रर्दशनी गरिने छ। आइस क्लाइम्बिङ, आइस हक्की, स्की यस क्षेत्रको मुख्य आकर्षक हुन्। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन यो फेस्टिबलले सहयोग पुर्‍याउने आयोजकले विश्‍वास राखेको छ। सरकारले हुम्देलाई आइस क्लाइम्बिङ स्पोटको मुख्य गन्तव्यको रुपमा विकास गर्न सुझाव दिएको छ।

विश्वमै परिचित गराउने, एडभेन्चर (साहसिक) खेललाई विकास गर्ने, आइस क्लाइम्बिङको प्रशिक्षण दिने, साहसिक खेलप्रति आकर्षण बढाउने, आइस क्लाइम्बिङका प्रतिस्पर्धी उत्पादन गरी देश तथा विदेशमा प्रतिस्पर्धा गराउने लक्ष्य संस्थाले राखेको छ। अन्नपूर्ण हिमश्रृङ्खला हुँदै अन्नपूर्ण २ र ३ हिमालबाट बगेर आएका १५ बढी झरनाहरुमा आइस क्लाइम्बिङ गर्न सकिन्छ।

मङ्‍सिरको अन्तिमदेखि फागुनको सुरुआतसम्म यी झरना जमेर आइस बन्छ र प्रसस्त मात्रामा क्लाइम्बिङकाे अवसर मिल्छ। आइस क्लाइम्बिङको आधारभूत, एड्भान्स तालिम गर्न होम्दे उपयुक्त गन्तव्य बनेको छ। काठमाडौंदेखि एक दिनको गाडी यात्रामा पुगिने ‘होम्दे’ आइस नदेख्नेलाई क्लाइम्बिङ गर्न सस्तो, प्रभावकारी र उपयुक्त गन्तव्य हो।

पाँच सयदेखि एक हजार मिटरभन्दा लामो झरना तीनदेखि पाँचस्तर (डव्लूआइ ३ देखि डव्लूआइ ५ सम्म) अथवा ६० देखि सय डिग्री उचाइसम्म झरनामा क्लाइम्बिङ गर्न पाइने छ। हुम्देमा क्लाइम्बिङका लागि तीनदेखि पाँच तहको स्तर रहेको छ। हुम्देको तापक्रम न्यूनतम माइनस २० देखि ५ डिग्रीसेल्सीयससम्म हुनेगर्छ। हिउँ बन्चरो, क्रम्पन, डोरी, जुत्ता र हेल्मेटको साहारामा आइस क्लाइम्बिङ गर्ने गरिन्छ। आइस क्लाइम्बिङ लिड, मल्टिपीच, मिक्स गरी तीन प्रकारले क्लाइम्बिङ गरिन्छ। ‘होङदे’ सँगै सोलुखुम्बुको कोङदे, दोलखाको गौरीशंकर क्षेत्र आइस क्लाइम्बिङको मुख्य गन्तव्य हो। नेपालन्युज

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ ०८:४६
प्रतिक्रिया दिनुहोस्