Logo

‘आफ्नो गाउँ आत्मनिर्भर बनाऊ’ कार्यक्रम अघि सार्दै जनार्दन शर्मा


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संगठन विभाग उपप्रमुखसमेत रहेका प्रभावशाली नेता जनार्दन शर्माले आर्थिक सम्बृद्धिका लागि ‘आफ्नो गाउँ आत्मनिर्भर बनाऊ’ कार्यक्रम अघि सारेका छन् । यो अवधारणालाई आफुले आफ्नै क्षेत्रबाट प्रयोगमा ल्याएको भन्दै उनले अब यसलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औल्याएका छन् ।

आफ्नो मन्त्रीत्वकालमा काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन सफल भएपछि चर्चाको शिखरमा पुगेका शर्माले आफुलाई भिजनरी नेताको उभ्याइरहेका छन् ।

समाजवादको लक्ष्य हाशिल गर्नका लागि कृषिलाई उद्योगका रुपमा रुपान्तरण गर्नुपर्नेमा उनको जोड रहेको छ । आफ्नो गाउँ आत्मनिर्भर बनाऊ भन्ने नाराका साथ जनतालाई संगठित गरेर उत्पादनमा जोड दिनुपर्छ’ शर्मा भन्छन् ‘त्यस्तै कृषिलाई उद्योगमा रुपान्तरण गर्नु आवश्यक छ । साथै स्थानीय स्रोतमा स्थानीय जनताको स्वामित्व स्थापित गराउने हो भने मात्रै देशले मुहार फेर्न र समाजबाद हासिल गर्न सकिन्छ ।’

स्थानीय युवालाई परिचालन गरेर श्रम सहकारीको अवधारणा गाउँगाउँमा लागु गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । संघीयता, समानता र समबेशीतालाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता भएको भन्दै उनले त्यसनिम्ति कम्युनिस्ट नेता कार्यकर्ता चुक्न नहुनेतर्फ जोड दिए । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा साझा ढंगले राष्ट्रको उत्पादक शक्तिमा विकास गर्नुपर्ने, उत्पादक स्रोतमा सरकार र जनताको सामुहिक स्वामित्व स्थापित गर्दै राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने र दलाल पुजिबादको चौघेराबाट नेतादेखि कार्यकर्ता मुक्त हुनुपर्नेमा उनको जोड रहेको छ ।

शर्माले जननिर्वाचित जनप्रतिनिधिहरुले जनता तथा कार्यकर्ताकै कारण आफू चुनिएको भन्ने कुरा विर्सनु नहुने तर्कसमेत गरे । ‘एउटा ब्यक्ति वडा अध्यक्ष, नगर तथा गाउँपालिका अध्यक्ष वा प्रदेश तथा संघीय प्रतिनिधि वा मन्त्री जे भएपनि यसमा सबै कार्यकर्ताको योगदान रहने हुँदा र पार्टीबाट उसले टिकट पाएर चुनाब लडेको हुँदा पार्टी र जनताप्रति प्रतिनिधिहरु बफादार हुनैपर्छ’ नेता शर्माले भने ।

शर्माले दुई ठुला पार्टी एक भएर बनेको शक्तिशाली कम्युनिस्ट पार्टीप्रतिजनताको अपेक्षा पनि ठुलै रहेकाले तीन वटै तहको सरकारले गम्भिरता पुर्बक काम गर्नुपर्ने आवस्यकता औल्याए । स्थानीय तहले शिक्षा, स्वास्थ्य र बिकास निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिदै शर्माले सरकारले गरेको कामबारे जनतासम्म पुर्याउन पार्टीको नेता तथा कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताए ।

‘हाम्रो उद्देश्य बैज्ञानिक समाजवाद हो, तर कार्यशैली र दिशा भने पुजिवादतर्फ पो उन्मुख भइरहेका छौं कि’ उनले भने ‘विधि, प्रकृया र पद्दतीलाई आत्मसात गरेर उद्देश्य प्रती पार्टीका नेता तथा कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि अघि बढ्न सकिएन भने लक्ष्यमा पुग्न सकिन्न । त्यसप्रति सबै सचेत हुन जरुरी छ ।’

जनवादमा आधारित केन्द्रीयता र मूल्य तथा मान्यतामा पार्टी संचालन हुनुपर्ने, पार्टी विधिसम्बत परिचालन हुने बित्तिकै पार्टीभित्रका गुटगत अस्तित्वहरु स्वतः समाप्त हुने र नेता तथा कार्यकर्ताको पारदर्शी मुल्याङ्कन प्रणालीको विकास भएमा जनतामा गरेका बाचालाई सजिलै पूरा गर्न सकिने र समृद्धिको लागि अघि बढाइएको राष्ट्रिय अभियान सफल पार्न सकिने धारणा शर्माको छ ।

(नेकपा माप्य दुधकोशी गाउँपालिका कमिटीद्धारा काठमाडौंमा आयोजित बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा राख्नुभएको मन्तव्यबाट)

प्रकाशित मिति : मंगलवार, २९ पुष २०७६ २३:०६
प्रतिक्रिया दिनुहोस्