Logo

कोरोना भाइरसको हल्ला पर्यटन क्षेत्रका लागि हानिकारक !


काठमाडौं, माघ २१

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र होटल एसोसिएसन नेपाल (हान) ले कोरोना भाइरसको हल्लाले  पर्यटन क्षेत्रमा असर पर्ने ठहर गरेको छ।

नेपालमा चीनबाट आएका १ जना विद्यार्थीमा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको र उनी निको भइसकेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपाल कोरोनाको असर चिनियाँ पर्यटक आगमनमा पर्ने बताएका छन् । उनले नेपालमा कोरोना भाइरसको बढी हल्ला हुँदा अन्य देशको पर्यटकमा असर पर्ने बताएका छन्।

‘कोरोना भाइरसबाट सतर्क रहनुपर्छ तर धेरै हल्लाखल्ला गर्नु आवश्यक छैन’, उनले भने, ‘३ महिनाको समय हामी हेर्छौँ नभए चीनबाहेकका अरु देशमा प्रचार गर्छौँ।’

भ्रमण वर्ष २०२० मा चीनबाट ५ लाख पुर्याउने लक्ष्य राखेको भन्दै चीनबाट ल्याउन नसके अन्य देशबाट ल्याउने प्रयास गर्ने दाबी गरे। ‘अब बुद्धजयन्तीमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै ल्याउने प्रयास हुन्छ। कोरोनाको संक्रमण लामो समय रहे अरु मार्केट खोज्छौं’, उनले भने।

हान अध्यक्ष सृजना राणाले सबै सदस्य होटललाई सतर्क रहन पत्राचार गरेको बताइन्।

‘होटलमा आएका कुनै पर्यटकलाई ज्वरो वा रुघाखोकीको संक्रमण देखिए तत्काल हस्पिटलमा भर्ना गर्न भनेका छौँ’, उनले भनिन्, ‘नेपाल कोरोना भाइरसको अवस्था कन्ट्रोल गर्न सक्षम छ भन्ने सन्देश पर्यटकलाई दिनुपर्छ। यसले बुकिङ रद्दमा पनि सहयोग गर्छ।’

प्रकाशित मिति : मंगलवार, २१ माघ २०७६ १५:४३
प्रतिक्रिया दिनुहोस्