Logo

सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा दुईवटा ड्रोन क्यामेरा जफत


भोजराज कार्की 

सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्जले विना अनुमति प्रयोग गरिएका २ वटा ड्रोन क्यामेरा जफत गरेको छ। निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म नियमविपरीत आफ्नो क्षेत्रमा प्रयोग गरिएका २ वटा ड्रोन क्यामेरा जफत गरेको जनाएको छ। निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो।

अहिले उक्त ड्रोन क्यामेराहरु विभागमा पठाउने तयारी भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विना अनुमति क्यामेरा तथा ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको प्रमुख उपाध्यायको भनाइ छ। विगतमा निकुञ्ज क्षेत्रमा चोरी सिकारीका लागि थापिएका विभिन्न प्रकारका धराप, पासो लगायतका सामाग्रीहरु बरामद हुने गरिएको भए पनि चालु आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको उनको भनाइ छ।

वि.सं २०३२ सालमा स्थापना भएको यस निकुञ्जको कुल क्षेत्रफल १,१४८ वर्ग किमि रहेको छ। सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.), ६,००० मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, अमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरू समेत यसै निकुञ्ज क्षेत्रभित्र पर्छन्।

यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन्। यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन  २००७ मा रामसार सूचीमा समावेश गरिएको छ।

यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चराहरू पाइन्छन्।

सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन। सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। त्यसैले यस निकुञ्जभित्र विभिन्न मानवीय क्रियाकलाप गर्न प्रतिबन्द्ध गरिएको कार्यालयको भनाइ छ। तर पनि अबैधानिक ढंगबाट चोरी निकासी लगाएतको कार्यभने भईरहेको श्रोतको भनाई छ।

नियमविपरीत हेलिकोप्टरको उडान

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियमविपरीत हेलिकोप्टर उडान तथा अवरतण हुने गरेको छ। निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकोप्टरले उडान भर्ने गरेको खुम्बुवासीको भनाइ छ। जसले गर्दा यस क्षेत्रका पशुपंक्षीलगायत होटल व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए।

पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जिवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले समेत चिन्ता व्‍यक्त गरेका छन्। तर हेलिकोप्टर कम्पनीहरु नियमको ध्वाज्जी उडाउँदै आफूखुसी उडान भर्दै आएको निकुञ्जका प्रमुख भूमिराज उपाध्यको भनाइ छ।

सिजनको समयमा दैनिक १ सय ९० भन्दा बढी पटक हेलिकोप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ। तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधारशिविर लगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्यांक छैन।  -थाहाखबर

प्रकाशित मिति : शनिबार, ३ फाल्गुन २०७६ १४:४५
प्रतिक्रिया दिनुहोस्