Logo

हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरणको निश्कर्ष


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ ।

साथै विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।

सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी गरेको छ भने अति प्रभावित मुलुकका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान रोक्नु र्ने वा नपर्नेबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई भनेको थियो ।

प्राधिकरणले अहिले मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान–अवतरण रोक्नपर्ने अवस्था नरहेको बताएको छ । तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको सिफारिसमा उल्लेख छ ।

प्राधिकरण स्रोतका अनुसार प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड पछ्याउँदै अतिप्रभावित क्षेत्रमा हुने उडान रोक्न सक्ने सम्बन्धमा नेपाल सरकारले निर्णय लिन बाधा नपर्ने उल्लेख गरिएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा आउने र जाने दुबै कक्षमा यात्रुको स्वास्थ्य चेक जाँच थालिएको छ । साथै सरकारले अत्यावश्यक नपरेसम्म विदेश भ्रमणमा नजान आह्वान गरेको छ ।

प्रकाशित मिति : बुधबार, २१ फाल्गुन २०७६ २१:४२
प्रतिक्रिया दिनुहोस्