Logo

पर्यटन उद्योगमा सङ्कटकाल घोषणा गर्न माग


काठमाडौं। होटल एसोसिएसन नेपाल (हान)ले पर्यटन उद्योगमा सङ्कटकालको घोषणा गर्न माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै हानले काबुबाहिरको परिस्थिति परी होटलको व्यावसायिक सञ्चालनमा समस्या भएका कारण पर्यटन उद्योगमा सङ्कटकाल घोषणाको माग गरेको हो ।

हानका महासचिव साजन शाक्यले मन्त्री भट्टराई समक्ष ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनमा होटलले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावाँ–ब्याज भुक्तानी गर्न व्यावसायिक आर्जनबाट नसकिने हुँदा कम्तीमा २ वर्षका लागि सम्पूर्ण होटलका ऋणको ब्याजमा शत प्रतिशत छुट दिन आग्रह गरिएको छ ।

साथै सावाँको भुक्तानीका लागि मोराटोरियम पिरियड एक्सटेन्सन गरिनु पर्ने आग्रह पनि हानले गरेको छ ।

ज्ञापनमा बिदामा रहेका समयमा कर्मचारीलाई भुक्तानी गर्नुपर्ने तलबभत्ताको १२ दशमलव ५० प्रतिशत होटलले ब्यहोर्ने गरी बाँकी सरकारले उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि माग गरिएको छ ।

पत्रमा कर्मचारी र पाहुनाको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राख्तै होटल बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएका कारण कर्मचारीहरूलाई अनिवार्य बिदामा पठाउनु पर्ने परिस्थिति उत्पन्न भएको उल्लेख गरिएको छ ।

ज्ञापनमार्फत् हानले होटलहरूको विद्युत् महसुलमा आगामी ६ महिनासम्म शत प्रतिशत छुट हुनुपर्ने आग्रह पनि गरेको छ ।

साथै होटलहरूलाई नन् डोमेस्टिक गार्हस्थ समूहबाट औद्योगिक समूहमा वर्गीकरण गरी आगामी २ वर्ष सम्मका लागि विशेष छुटसहितको दरमा छुट्टै विद्युत् महसुल दर कायम गरिनुपर्ने पनि पत्रमा उल्लेख छ ।

ज्ञापनमा होटल सञ्चालनका लागि चाहिने सञ्चालन खर्च सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने र एकीकृत सम्पत्तिकरमा २ वर्षसम्म छुट दिनुपर्ने बताइएको छ ।

त्यस्तै घर र जग्गा बहालमा लिई सञ्चालित होटलका लागि प्रकोप नियन्त्रण नभएसम्म घर र जग्गाको बहाल तथा बहाल करमा समेत  छुट दिन माग गरिएको छ ।

पत्रमा भनिएको छ, ‘गत वर्ष भुक्तानी गरेको भ्याटको रकमलाई हालको सङ्कटकालीन विषम परिस्थितिमा होटल सञ्चालनका लागि भ्याटको पूरै रकम फिर्ता गरिनुपर्छ ।

नेपाल सरकारद्वारा पुनरावलोकन गरिने न्यूनतम पारिश्रमिक निर्धारण अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै आगामी २ वर्षका लागि स्थगित गरिनुपर्छ ।

प्रकाशित मिति : शनिबार, ८ चैत्र २०७६ १८:४७
प्रतिक्रिया दिनुहोस्