जुभिङ स्वास्थ्य चौकीलाई हिमालयन आई प्रोजेक्ट–स्विट्जरल्यान्डद्वारा लाखौं मूल्यबराबरको स्वास्थ्य सामग्री सहयोग
सोलुखुम्बु। हिमालयन आई प्रोजेक्ट–स्विट्जरल्यान्डले सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ मा अवस्थित जुभिङ स्वास्थ्य चौकीलाई लाखौं रुपैयाँ मूल्यबराबरका अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
संस्थाले स्वास्थ्य चौकीलाई पाँच वटा इलेक्ट्रोनिक अस्पताल बेड, एक डेन्टल चेयर, रिभोल्भिङ चेयर, ह्विलचेयर तथा अन्य आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको हो। साथै, स्वास्थ्य चौकी सञ्चालनका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री र सम्पूर्ण स्वास्थ्यकर्मीका लागि ज्याकेटसमेत सहयोग गरिएको छ ।
स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउन पर्यटन व्यवसायी तथा समाजसेवी ङिमा दोर्जी शेर्पाले महत्वपूर्ण समन्वय गर्नुभएको थियो। यसैबीच सहयोग हस्तान्तरणका लागि शेर्पा नेतृत्वको हिमालयन आई प्रोजेक्ट–स्विट्जरल्यान्डको टोली जुभिङ पुगेको अवसरमा जुभिङ स्वास्थ्य चौकीले भव्य स्वागत तथा सम्मान गरेको थियो।
स्वास्थ्य चौकीले हिमालयन आई प्रोजेक्ट–स्विट्जरल्यान्डप्रति निरन्तर सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ। स्वास्थ्य चौकीले यस सहकार्यबाट स्थानीय समुदायले अझ प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा समेत गरेको जनाएको छ ।
वडाध्यक्ष सज्जन राईले संस्थाको यो अमूल्य सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, सहज तथा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।



