नाट्टा निर्वाचनका लागि जिस्वाँ तुलाधर समूहको उम्मेदवारी घोषणा, १२ बुँदे प्रतिबद्धता सार्वजनिक
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आसन्न निर्वाचनका लागि जिस्वाँ तुलाधर श्रेष्ठ नेतृत्वको प्यानल घोषणा भएको छ । यही साउन २९ गते नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै हुने २५ औं कार्यसमितिको निर्वाचनका लागि तुलाधर नेतृत्वको प्यानल घोषणा गरिएको हो ।
स्वा टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशकसमेत रहेकी अध्यक्षका प्रत्याशी तुलाधरको समूहबाट वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे (हिमालयन क्लब टुर्स एन्ड ट्राभल्स), उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा (एडभेन्चर आउटडोर एक्स्कर्सन), महासचिवमा सुसिल पन्त (गोरखा इन्टरनेसनल ट्राभल्स), सचिवमा रमेश घिमिरे (वेल नेपाल टुर्स एन्ड ट्रेक्स), कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल (काठमाडौं होलिडे टुर एन्ड ट्राभल) र सहकोषाध्यक्षमा डा. बिमला दाहाल (सेलेक्टेड टुर्स एन्ड ट्राभल)ले उमेदवारी घोषणाा गरेका छन् ।
सो प्यानलबाट कार्यसमिति सदस्यहरूमा प्रदीप आचार्य (ड्यूक नेपाल एडभेन्चर), सुदर्शन गजुरेल (पर्ल होलिडेज), दिनेश घिमिरे (शिवालय होलिडेज), त्रिलोचन न्यौपाने (इन्टेल रोशी टुर्स एन्ड ट्राभल),अनु राउत अधिकारी (नेपाल स्नो ज्वेल ट्राभल एन्ड टुरिजम) र रोजिना रञ्जितकार (रेनबो ट्राभल्स एन्ड टुर्स)ले उमेदवारी घोषणा गरेकी छन् ।
तुलाधारको प्यानलले उम्मेदवारी घोषणासँगै पर्यटन व्यवासायीको हकहितमा काम गर्ने गरी विभिन्न १२ बुँदै प्रतिवद्धतासमेत सार्वजनिक गरेको छ ।
तुलाधर प्यानलको एजेण्डा:
“सबल नेतृत्व, सुरक्षित व्यवसाय र समृद्ध पर्यटनका लागि जिस्वाँ तुलाधर श्रेष्ठको उम्मेदवारी”
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) नेपालका टुर तथा ट्राभल एजेन्सीहरूको छाता संगठनका रूपमा विगत छ दशकदेखि नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास तथा पर्यटन व्यवसायीहरूको हकहित संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको प्रतिष्ठित संस्था हो ।
यसै सन्दर्भमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को निर्वाचन २०२६–२०२८ का लागि जिस्वाँ तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको ‘Team Jiswan Tuladhar Shrestha’ ले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा गर्दै १२-बुँदे प्रमुख निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
‘सदस्यको विश्वास, एकताबद्ध NATTA, समृद्ध पर्यटन व्यवसाय’ भन्ने मूल नाराका साथ अघि बढेको यस प्यानलले NATTA लाई अझ सबल, समावेशी, पारदर्शी, प्रविधिमैत्री र व्यवसायीमुखी संस्थाका रूपमा विकास गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
हाम्रो दृष्टिकोण
“सबैका लागि NATTA, समृद्ध पर्यटनका लागि NATTA भन्ने मूल भावनाका साथ जिस्वाँ तुलाधर श्रेष्ठ नेतृत्वको टोलीले पर्यटन व्यवसायीहरूको व्यावसायिक हकहित संरक्षण, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, डिजिटल रूपान्तरण, पारदर्शी व्यवस्थापन, संस्थागत सुधार तथा नयाँ पुस्ताका पर्यटन उद्यमीलाई प्रोत्साहनलाई प्रमुख प्राथमिकतामा राखेको छ।
पर्यटन क्षेत्रका विद्यमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै NATTA लाई व्यवसायीको आवाज बोल्ने मात्र होइन, समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने सक्षम, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा स्थापित गर्ने* हाम्रो दृढ प्रतिबद्धता रहेको छ।
१२-बुँदे प्रमुख निर्वाचन प्रतिबद्धता*
१. अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र विश्वव्यापी बजार विस्तार
नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी बजारीकरण गर्दै इनबाउन्ड र आउटबाउन्ड पर्यटनको सन्तुलित विकासमा जोड दिने। डिजिटल प्रविधि, Artificial Intelligence (AI) तथा B2B प्लेटफर्मको प्रभावकारी प्रयोगमार्फत नेपाली पर्यटन व्यवसायी र एजेन्सीहरूलाई विश्वव्यापी बजारसँग जोड्ने।
२. IATA तथा हवाई टिकटिङ प्रणालीमा सुधार
सबै एयरलाइन्समा समान, पारदर्शी र व्यवसायीमैत्री Capping Policy लागू गर्न पहल गर्ने। GDS मा समान पहुँच सुनिश्चित गर्ने, ADM सम्बन्धी समस्यालाई व्यवस्थित गर्ने तथा हवाई टिकटको असमान भाडादर र एजेन्सी कमिसनसम्बन्धी समस्याको समाधानका लागि प्रभावकारी पहल गर्ने।
३. नयाँ उद्यमी तथा साना व्यवसायीलाई प्रोत्साहन
पर्यटन व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउन Single Window System तथा NATTA Help Desk स्थापना गर्ने। महिला तथा युवा पर्यटन उद्यमीका लागि विशेष परामर्श, क्षमता अभिवृद्धि तथा स्टार्टअप प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने।
४. हवाई टिकट तथा VAT सम्बन्धी समस्या समाधान
हवाई टिकटमा बढ्दो लागत तथा करको भारलाई ध्यानमा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटमा लागू VAT सम्बन्धी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक सुधारका लागि सम्बन्धित निकायसँग सशक्त पहल गर्ने।
५. पर्यटकीय बसपार्क तथा अन्तरशहरी यातायात सञ्जाल विस्तार
देशका प्रमुख पर्यटकीय गन्तव्यलाई जोड्ने Intercity Bus Connectivity विस्तार गर्ने तथा आधुनिक पर्यटकीय बस टर्मिनल/बसपार्क निर्माणका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसँग प्रभावकारी समन्वय र पहल गर्ने।
६. NATTA कार्यसमितिको संस्थागत पुनर्संरचना
NATTA लाई अझ चुस्त, प्रभावकारी र परिणाममुखी संस्था बनाउन आवश्यक संस्थागत तथा कार्यसमिति पुनर्संरचना गर्दै प्रदेश तथा क्षेत्रीय प्रतिनिधित्व, सहभागिता र अधिकारलाई थप सुनिश्चित गर्ने।
७. ‘Smart NATTA’ को अवधारणा कार्यान्वयन
NATTA का प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी गतिविधिलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने। पारदर्शिता, पहुँच र दक्षता अभिवृद्धिका लागि Online Voting System लगायतका डिजिटल सेवाको पाइलट परियोजनाका रूपमा परीक्षण तथा कार्यान्वयन गर्ने।
८. गैरकानुनी तथा अनधिकृत पर्यटन गतिविधि नियन्त्रण
अनधिकृत विदेशी टुर अपरेटर, अवैध टुर लिडर तथा सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी टुर प्याकेज बिक्री तथा सञ्चालनलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय गर्ने र नेपाली पर्यटन व्यवसायीको हकहित तथा व्यवसायिक सुरक्षा सुनिश्चित गर्ने।
९. प्रादेशिक पर्यटन विकास तथा हवाई सञ्जाल सुदृढीकरण
पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी र दिगो सञ्चालनका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने। साथै, NATTA का प्रादेशिक च्याप्टरहरूलाई थप अधिकारसम्पन्न, सक्रिय र आत्मनिर्भर बनाउँदै देशव्यापी संस्थागत सञ्जाललाई सुदृढ गर्ने।
१०. आउटबाउन्ड पर्यटनका जटिलता समाधान
वैदेशिक मुद्रासम्बन्धी नीतिलाई पर्यटन व्यवसायमैत्री र व्यवहारिक बनाउन पहल गर्ने। आउटबाउन्ड पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्दै कैलाश यात्रा, भुटान भ्रमणलगायतका धार्मिक तथा अन्तर्राष्ट्रिय यात्रालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने।
११. क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरण
NATTA Academy को अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउँदै डिजिटल मार्केटिङ, विदेशी भाषा, Artificial Intelligence (AI), संकट व्यवस्थापन, नेतृत्व विकास तथा आधुनिक पर्यटन प्रविधिसम्बन्धी नियमित तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने।
१२. आन्तरिक पर्यटनमा पहुँच तथा पूर्वाधार सुधार
आन्तरिक पर्यटनलाई थप प्रवर्द्धन गर्न विभिन्न तहका सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्ने। पर्यटकीय गन्तव्यसम्म सहज पहुँच, सडक तथा यातायात पूर्वाधारको सुधार, नियमित मर्मतसम्भार तथा आवश्यक पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिने।
हाम्रो प्रतिबद्धता र आह्वान
हामी NATTA लाई कुनै व्यक्ति वा समूहको मात्र संस्था नभई हरेक पर्यटन व्यवसायीको साझा आवाज, साझा शक्ति र साझा मञ्चका रूपमा विकास गर्न चाहन्छौँ। पर्यटन व्यवसायीका समस्या पहिचान गर्ने मात्र होइन, तिनको नीतिगत समाधानका लागि सरकार तथा सम्बन्धित सरोकारवालासँग निरन्तर, प्रभावकारी र परिणाममुखी पहल गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।
हामी विश्वास गर्छौँ—सबल संस्था निर्माणका लागि एकता आवश्यक छ, व्यवसायको सुरक्षाका लागि प्रभावकारी नेतृत्व आवश्यक छ र नेपालको पर्यटनको समृद्धिका लागि दूरदर्शी सोच आवश्यक छ।
आजको आवश्यकता केवल नेतृत्व परिवर्तन होइन, NATTA लाई अझ बलियो, आधुनिक, पारदर्शी र परिणाममुखी बनाउने संस्थागत रूपान्तरण हो। यही उद्देश्यका साथ हामी सम्पूर्ण पर्यटन व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दछौँ।


