Logo

ठमेल पर्यटन विकास परिषद्को महासचिवमा लागेजुको उम्मेदवारी, पर्यटनमैत्री ठमेल निर्माणलाई प्राथमिकता


काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा महासचिव पदका लागि पुन्यराम लागेजुले उम्मेदवारी घोषणा गर्नुभएको छ। परिषद्को वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हालिरहनुभएका लागेजुले प्रश्रय राजभण्डारी नेतृत्वको प्यानलबाट महासचिव पदमा प्रतिस्पर्धा गर्न लाग्नुभएको हो।

यामा आउटडोरका प्रबन्ध निर्देशक लागेजु विगत साढे दुई दशकदेखि नेपालको पर्यटन व्यवसायमा सक्रिय हुनुहुन्छ। पर्यटन व्यवसायमा लामो अनुभव हासिल गर्नुभएका उहाँले ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न निरन्तर योगदान दिँदै आउनुभएको छ । आफ्नो व्यवसायसँगै उहाँले ठमेल क्षेत्रको प्रवर्द्धन, व्यवसायीबीचको सहकार्य तथा पर्यटनमैत्री वातावरण निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।

परिषद्को सचिवका रूपमा कार्य गर्दै विभिन्न कार्यक्रम, समन्वय र संस्थागत सुधारका पहलमा सक्रिय रहनुभएका लागेजु विभिन्न सामाजिक संघसंस्थामार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। पर्यटन क्षेत्रसँग सम्बन्धित विविध अभियानमा उहाँको निरन्तर सहभागिताले उहाँलाई व्यवसायीमाझ परिचित र विश्वासिलो व्यक्तित्वका रूपमा स्थापित गरेको छ।

महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै लागेजुले पर्यटकको सुरक्षा परिषद्को प्रमुख प्राथमिकतामध्ये एक हुनुपर्ने बताउनुभयो। नेपाल भ्रमणमा आउने प्रत्येक पर्यटकलाई सुरक्षित रूपमा आफ्नो गन्तव्यसम्म पुग्ने र भ्रमण सम्पन्न गरी पुनः नेपाल फर्केर आउने विश्वासिलो वातावरण सिर्जना गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको धारणा छ।

“पर्यटकको सुरक्षा, व्यवसायीको हित र ठमेलको समग्र विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धताका साथ मैले महासचिव पदमा उम्मेदवारी दिएको हुँ,” उहाँले भन्नुभयो, “ठमेललाई अझ व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी पर्यटन गन्तव्य बनाउन सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य छ।”

लागेजुले ठमेलभित्र रहेका ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखिने बताउनुभयो। साथै सडक व्यवस्थापन, सरसफाइ, सुरक्षा, पार्किङ, पूर्वाधार सुधार तथा पर्यटकमैत्री वातावरण निर्माणजस्ता दीर्घकालीन समस्याको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्न आफ्नो टिम सक्षम रहेको उहाँको विश्वास छ ।

उहाँका अनुसार पर्यटन व्यवसायी, स्थानीय समुदाय र सरकारी निकायबीच प्रभावकारी सहकार्य स्थापित गर्दै ठमेललाई विश्व पर्यटन बजारमा अझ प्रतिस्पर्धी गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। परिषद्लाई व्यवसायीको साझा संस्था बनाउँदै नीतिगत पैरवी, व्यवसाय प्रवर्द्धन, अन्तर्राष्ट्रिय प्रचारप्रसार र पर्यटनमैत्री कार्यक्रम सञ्चालनमा जोड दिइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : मंगलवार, २३ असार २०८३ १५:१८
प्रतिक्रिया दिनुहोस्