टानद्वारा सदस्यता नवीकरण गर्न आह्वान, निर्वाचनमा सहभागी हुन असारभित्रै नवीकरण गर्नुपर्ने
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ४८औँ वार्षिक साधारणसभा अन्तर्गत हुने नयाँ कार्यसमिति निर्वाचनमा मतदान गर्न तथा उम्मेदवार बन्न चाहने सदस्यहरूलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरेको छ।
टानले असार २२ गते जारी गरेको सूचनाअनुसार संशोधित विधानको व्यवस्था बमोजिम निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न चालु आर्थिक वर्षका लागि सदस्यता नवीकरण अनिवार्य छ । यसका लागि सदस्यता नवीकरण गर्ने अन्तिम मिति असार मसान्तसम्म तोकिएको छ ।
साथै, लामो समयदेखि सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरूको सुविधाका लागि कार्यसमितिको पूर्वनिर्णयअनुसार चार वर्ष वा सोभन्दा बढी अवधिको नवीकरण गर्दा प्रत्येक वर्ष लाग्ने विलम्ब शुल्क मिनाहा गरिएको पनि टानले जनाएको छ । यो सुविधा पनि असार मसान्तसम्म मात्र लागू हुने सूचनामा उल्लेख छ ।
टानले निर्वाचनमा आफ्नो मतदान तथा उम्मेदवारीको अधिकार सुनिश्चित गर्न सबै सदस्यलाई तोकिएको समयभित्र सदस्यता नवीकरण गरिसक्न अनुरोध गरेको छ । 


