Logo

ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा श्रेष्ठको सशक्त उम्मेदवारी


काठमाडौं । युवा पर्यटन व्यवसायी प्रकाश श्रेष्ठले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । आगामी असार २७ गते परिषद्को ३०औँ तथा ३१औँ वार्षिक साधारणसभासँगै हुने निर्वाचनमा उहाँ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिन लाग्नुभएको हो ।

टाइगर उपनामले परिचित श्रेष्ठ वर्तमान कार्यसमितिमा सदस्यको रुपमा रहेर भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँले प्रश्रय राजभण्डारी नेतृत्वको प्यानलबाट आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

लामो समयदेखि ठमेलको पर्यटन तथा आतिथ्य क्षेत्रमा सक्रिय श्रेष्ठ सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा ठमेलको विकास गर्ने प्रतिबद्धतासहित उम्मेदवारी अघि सार्नुभएको छ । उहाँले पर्यटन व्यवसायको पुनरुत्थान, व्यवसायीबीच सहकार्य विस्तार, पर्यटनमैत्री वातावरण निर्माण तथा युवा व्यवसायीहरूको नेतृत्वदायी सहभागिता बढाउने एजेन्डालाई प्राथमिकतामा राख्नुभएको छ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित बनेको ठमेलको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न सक्षम, समन्वयकारी र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताउनुभयो।

“ठमेल नेपालको पर्यटनको मुटु हो। यहाँका रैथाने घरधनी, पुराना तथा नयाँ व्यवसायी, साथै आन्तरिक र बाह्य पर्यटक सबैको हितलाई केन्द्रमा राखेर काम गर्ने दृढ प्रतिबद्धतासहित मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,” उहाँले भन्नुभयो।

ठमेलको सुरक्षा व्यवस्थापनमा चासो राख्दै आउनुभएका श्रेष्ठले यसअघि विभिन्न सुरक्षा सुधारका पहलमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत २०७२ सालको भूकम्पपछि काभ्रेका विद्यालयहरूमा शैक्षिक सामग्री र राहत वितरण गर्नुका साथै कोभिड–१९ महामारीका बेला विद्यालय तथा स्थानीय समुदायलाई स्वास्थ्य सामग्री, राहत र अन्य आवश्यक सहयोग उपलब्ध गराउनुभएको थियो।

पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार श्रेष्ठको उम्मेदवारीले परिषदमा युवा नेतृत्वको उपस्थिति बलियो बनाउनुका साथै ठमेलको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हकहित संरक्षण र अन्तर्राष्ट्रिय छवि थप सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : मंगलवार, २३ असार २०८३ १७:०९
प्रतिक्रिया दिनुहोस्