Logo

टुर्गानको महासचिव पदमा फुयाँलको बलियो दाबी, डिजिटल टुर्गानलगायतका एजेण्डाहरु प्रस्तुत


काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को आसन्न निर्वाचनमा महासचिव पदका लागि रोहित कुमार फुयाँल बलिया प्रत्याशीका रूपमा अघि आउनुभएको छ। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ मा जन्मिनुभएका फुयाँल सन् २००० देखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

ट्रेकिङ तथा ट्राभल व्यवसायबाट आफ्नो यात्रा सुरु गर्नुभएका उहाँले सन् २०१७ मा अंग्रेजी भाषाको टुरिस्ट गाइड लाइसेन्स प्राप्त गरेपछि पर्यटन क्षेत्रमा आफ्नो पेशागत र व्यावसायिक दायरा थप विस्तार गर्नुभयो।

टुर्गानमा एक कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएका फुयाँल पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन हुँदा सबैभन्दा बढी मतसहित कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो। वर्तमान कार्यकालमा कोषाध्यक्षका रूपमा निर्वाह गरेको भूमिकाले उहाँलाई संगठनभित्रको अनुभव र नेतृत्व क्षमता अझ परिपक्व बनाएको बताइन्छ ।

महासचिव पदका उम्मेदवार फुयाँलले ‘डिजिटल टुर्गान’ निर्माण, टुरिस्ट गाइडका समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन योजना, समयानुकूल पारिश्रमिक सुनिश्चित गर्न पहल, सामाजिक सुरक्षा कार्यक्रममा गाइडहरूलाई आबद्ध गराउने तथा पेशागत योग्यताको स्पष्ट मान्यता स्थापित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सादा जीवनशैली, मिलनसार स्वभाव र सबैसँग समन्वयकारी सम्बन्ध कायम राख्न सफल फुयाँललाई यसपटक महासचिव पदका बलियो दाबेदारका रूपमा हेरिएको छ । पर्यटन क्षेत्रका धेरै व्यवसायी तथा गाइडहरूले सो पदमा उहाँको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् ।

टुर्गानको ३३औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचन २०८३ असार २७ गते (११ जुलाई २०२६) काठमाडौंको प्रज्ञा भवन, कमलादीमा हुँदैछ ।

प्रकाशित मिति : शुक्रबार, २६ असार २०८३ १३:२७
प्रतिक्रिया दिनुहोस्