एनएमए र एसटीपीबीच पर्वतीय पर्यटन सम्बन्धी विशेष तालिम सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) र दिगो पर्यटन परियोजना (एसटीपी) बीच नेपालको पर्वतीय पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न विशेष तालिम सञ्चालन गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित एसटीपीसँगको सहकार्यअन्तर्गत एनएमएले तीन वटा विशेष तालिम सञ्चालन गर्नेछ।
सम्झौताअनुसार अपि हिमाल क्षेत्रमा माउन्टेन गाइड समर स्किल (बेसिक माउन्टेनियरिङ तालिम), कञ्चनजङ्घा क्षेत्रमा माउन्टेन गाइड विन्टर स्किल (एड्भान्स्ड माउन्टेनियरिङ तालिम) र माउन्टेन लिडर समर स्किल तालिम मनास्लु क्षेत्रमा सञ्चालन गरिनेछ।
तालिमको विस्तृत कार्यतालिका पछि सार्वजनिक गरिने एनएमएले जनाएको छ।
सम्झौतापत्रमा एनएमएका तर्फबाट अध्यक्ष फुर गेल्जे शेर्पा, महासचिव राजेन्द्रबहादुर लामा र कोषाध्यक्ष सुमी लामाले हस्ताक्षर गर्नुभएको थियो भने एसटीपीका तर्फबाट नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐयरले हस्ताक्षर गर्नुभयो।
यो सहकार्यले गुणस्तरीय तालिम, व्यावसायिक दक्षता अभिवृद्धि तथा दिगो पर्वतीय पर्यटन विकासमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


