ठमेल परिषद्को निर्वाचन सरगर्मी बढ्दै, राजभण्डारी प्यानलको उम्मेदवारी घोषणा
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को भावी नेतृत्व चयनका लागि हुने निर्वाचनको सरगर्मी बढ्दै गएको छ । यही असार २७ गते परिषद्को ३०औं र ३१औं वार्षिक साधारण सभासँगै सम्पन्न हुने निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न समूहले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्।
यसैक्रममा यूवा व्यवसायी प्रश्रय राजभण्डारीको नेतृत्वमा प्यानल बनाएर निर्वाचनमा जाने तयारी अन्तिम चरणमा पुगेको छ । सो प्यानलको प्रथम उपाध्यक्षमा कृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ (टाइगर), तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पुन्यराम लागेजु, सचिवमा प्रकाश थपलिया र कोषाध्यक्षमा रोशन अधिकारी तथा सदस्यमा कमल अर्याल, सोजेश मालाकार र नवीन तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणासँगै प्यानलले परिषद्को भावी कार्यदिशा र विकासका प्राथमिकतासमेत सार्वजनिक गरेको छ । प्यानलले ठमेललाई सुरक्षित, व्यवस्थित र विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धन गर्ने तथा पर्यटन व्यवसायीहरूको हकहित संरक्षण गर्दै परिषद्लाई थप सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यसैगरी स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी पर्यटनमैत्री नीति तथा पूर्वाधार विकासमा पहल गर्ने, सडक, सरसफाइ, सडकबत्ती, सुरक्षा र सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्ने तथा सांस्कृतिक, सांगीतिक र पर्यटनमूलक कार्यक्रमहरू नियमित आयोजना गरी ठमेलको आकर्षण अभिवृद्धि गर्ने एजेन्डा पनि सार्वजनिक गरिएको छ ।
प्यानलले डिजिटल प्रवर्द्धन, ब्रान्डिङ तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत ठमेललाई अन्तर्राष्ट्रिय बजारसँग थप मजबुत रूपमा जोड्ने, होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ, हस्तकला लगायत सम्पूर्ण पर्यटन व्यवसायीबीच सहकार्य र एकता सुदृढ गर्ने, परिषद्को प्रशासनलाई पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने तथा दिगो पर्यटन, वातावरण संरक्षण र ‘हरित ठमेल’ अभियानलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।
परिषद्को आगामी नेतृत्वका लागि अन्य समूहहरूले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् । निर्वाचन नजिकिँदै जाँदा ठमेलको पर्यटन क्षेत्रको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले व्यवसायीहरू बीच विशेष चासो र उत्साह बढाएको छ ।


