Logo

‘अपर मुन्दुम हुङ्गा भ्याली एभरेस्ट ट्रेल’ सम्बन्धी म्याप तथा ब्रोसर सार्वजनिक


काठमाडौं । नयाँ पर्यटकीय गन्तव्य ‘अपर मुन्दुम हुङ्गा भ्याली एभरेस्ट ट्रेल’ को औपचारिक सुरुवात गरिएको छ । बिहिबार नेपाल पर्यटन बोर्डको सभाहलमा सो ट्रेलसँग सम्बन्धित ब्रोसर, म्याप र बुकलेट विधिवत रूपमा सार्वजनिक गरिएको हो ।

महाकुलुङ गाउँपालिकाको आर्थिक सहयोग र पहाडी विकास तथा संरक्षण समूह नेपालको प्राविधिक सहयोगमा तयार गरिएको उक्त ट्रेल’को विकासले यस क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन समृद्धिको आधार बन्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले ट्रेल सार्वजनिक गर्नु पर्यटन विकासको दिशामा महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले महाकुलुङ क्षेत्र प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताले अत्यन्त धनी रहेको उल्लेख गर्दै नयाँ ट्रेलले स्थानीय अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्न तथा युवाहरूलाई गाउँमै अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपालका नयाँ पदमार्गहरूको खोज, संरक्षण र प्रवर्द्धन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै ‘अपर मुन्दुम हुङ्गा भ्याली एभरेस्ट ट्रेल’ ले सगरमाथा क्षेत्रको पर्यटनमा नयाँ आयाम थप्ने धारणा राख्नुभयो । साथै, स्थानीय समुदायको सक्रिय सहभागिता र संरक्षणबिना पर्यटन दिगो बन्न नसक्ने भएकाले ट्रेलको संरक्षण र व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

महाकुलुङ गाउँपालिकाभित्र रहेका प्राकृतिक सम्पदा, हिमाली दृश्य, शेर्पा तथा किराँत समुदायको मौलिक संस्कृति, जैविक विविधता र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूलाई समेटेर ट्रेल विकास गरिएको जनाइएको छ ।

सार्वजनिक गरिएको ब्रोसर, म्याप र बुकलेटमा ट्रेलको रुट, उचाइ, यात्रा अवधि, प्रमुख आकर्षण, स्थानीय संस्कृति, बासस्थान, सम्भावित पर्यटन गतिविधि तथा आवश्यक जानकारी समावेश गरिएको छ ।

सोलुखुम्बुको दुर्गम तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाकुलुङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, स्थानीय प्रतिनिधि, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पहाडी विकास तथा संरक्षण समूह नेपालका अध्यक्ष भलाकाजी कुलुङको अध्यक्षता तथा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय रिना उप्रेती र गीता गुरुङ, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङ र उपाध्यक्ष विपना कुलुङ, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहीबार, १४ जेष्ठ २०८३ २१:३२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ