Logo

नाट्टा अध्यक्षमा तुलाधरको उम्मेदवारी घोषणा, दिगो र समुदायमा आधारित पर्यटनलाई प्राथमिकता


काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी जिस्वान तुलाधरले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

साढे दुई दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय तथा नाट्टामा १५ वर्षभन्दा लामो संस्थागत अनुभव बटुल्नुभएका तुलाधरले पारदर्शी, समावेशी, उत्तरदायी र परिणाममुखी नेतृत्वमार्फत नाट्टालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महिला सहभागिता न्यून रहेको समयमा ट्राभल व्यवसाय सुरु गरेकी तुलाधर सन् २०१० देखि नाट्टामा आबद्ध रहँदै विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँले सन् २०१६ मा एक्लै अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा पूरा गरेपछि ‘नेपाली ट्राभलर’ सम्मान प्राप्त गर्नुभएको थियो । साथै, अन्तर्राष्ट्रिय मोटर र्‍यालीमा नेपाललाई प्रतिनिधित्व गर्ने पहिलो नेपाली महिला र्‍याली चालकका रूपमा थाइल्यान्ड, इन्डोनेसिया र फ्रान्समा प्रतिस्पर्धा गरिसक्नुभएको छ।

उम्मेदवारी घोषणासँगै उहाँले सदस्य सेवा विस्तार, सुशासन, भारत र चीनलगायत प्रमुख स्रोत बजारमा नियमित पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालको प्रभावकारी सहभागिता, बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) को सुदृढीकरण, आन्तरिक पर्यटन प्रवर्द्धन, डिजिटल रूपान्तरण, क्षमता विकास, युवा उद्यमीलाई अवसर तथा दिगो, जिम्मेवार र समुदायमा आधारित पर्यटनलाई प्राथमिकतामा राख्ने लगायतका एजेण्डाहरु सार्वजनिक गर्नुभएको छ ।

नेपालले पर्यटकको संख्या मात्र होइन, लामो समय बस्ने, बढी खर्च गर्ने र स्थानीय समुदाय तथा संस्कृतिलाई सम्मान गर्ने गुणस्तरीय पर्यटक आकर्षित गर्ने रणनीति अवलम्बन गर्नुपर्ने साथै, नेपाललाई सुरक्षित, विविध र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न नाट्टाले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा उहाँको छ।

नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै २५औं कार्यसमिति चयनका लागि आगामी २०८३ श्रावण २९ गते (१४ अगष्ट २०२६) सम्पन्न हुदैछ ।

 

प्रकाशित मिति : शनिबार, २ श्रावण २०८३ १२:३२
प्रतिक्रिया दिनुहोस्