Logo

एनएमएद्वारा व्यावसायिक पर्वतारोहण गाइड प्रशिक्षणको चौथो आधारभूत चरण सम्पन्न


काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए) ले व्यावसायिक पर्वतारोहण गाइड (पीएमजी) कार्यक्रमअन्तर्गत चौथो फन्डामेन्टल स्किल फर माउन्टेनियरिङ (आधारभूत पर्वतारोहण सीप) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

गत असार ८ देखि २२ गते (२२ जुन–६ जुलाई २०२६) सम्म काठमाडौं र नुवाकोटको ककनीमा सञ्चालन भएको १५ दिने तालिममा ४० जना प्रशिक्षार्थीले सफलता हासिल गरे । यो तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट स्वीकृत तथा अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) बाट मान्यता प्राप्त १,६९६ घण्टे व्यावसायिक पर्वतारोहण गाइड पाठ्यक्रमको पहिलो चरण हो ।

तालिम सफलतापूर्वक पूरा गरेका सबै सहभागी अब ६ हजार मिटर उचाइको हिमालमा सञ्चालन हुने समर स्किल कोर्समा सहभागी हुन योग्य भएका छन् । त्यसपछि सफल प्रशिक्षार्थीले ७ हजार मिटर उचाइको हिमालमा सञ्चालन हुने विन्टर स्किल कोर्समा सहभागिता जनाउनेछन्।

पूरा पाठ्यक्रमअन्तर्गत ८० घण्टे प्राथमिक उपचार (फर्स्ट एड), हेलिकोप्टर लङलाइन उद्धार, हेलि मार्सलिङ तथा स्किइङसम्बन्धी विशेष तालिमसमेत समावेश गरिएको एनएमएले जनाएको छ।
संघले तालिम सफल बनाउन सहयोग पुर्‍याउने नेपाल पर्यटन बोर्ड (एनटीबी), प्रशिक्षक टोली तथा सम्पूर्ण साझेदार र सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै दक्ष, सक्षम र अन्तर्राष्ट्रिय स्तरका पर्वतारोहण गाइड उत्पादनमार्फत नेपालको पर्वतीय पर्यटनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : आईतवार, २८ असार २०८३ ०२:४६
प्रतिक्रिया दिनुहोस्